‘सिन्डिकेट’ चलाउन जन्मियो तराई यातायात व्यवसायी सङ्घ

सरकारले यातायातसम्बन्धी सम्पूर्ण संस्थालाई खारेज गर्ने र रिन्यूसमेत नगर्ने बताइरहेका बेला औद्योगिक नगरी वीरगन्ज, भैरहवा, लुम्बिनीलगायत तराईका क्षेत्रलाई आधार बनाएर नयाँ सङ्घ खुलेको छ । यो सङ्घले सिन्डिकेट लगाउन सुरु गरिसकेको छ ।

काठमाडौं ः सरकारले सिन्डिकेट अन्त्य गर्ने र त्यससँग आबद्ध संस्थालाई खारेजीको नीति लिए पनि तराई यातायात व्यवसायी सङ्घ नामक संस्था खोलेर त्यहाँबाट सिन्डिकेट चलाउन सुरु गरिएको छ ।

सरकारले यातायातसम्बन्धी सम्पूर्ण संस्थालाई खारेज गर्ने र रिन्यूसमेत नगर्ने बताइरहेका बेला औद्योगिक नगरी वीरगन्ज, भैरहवा, लुम्बिनीलगायत तराईका क्षेत्रलाई आधार बनाएर नयाँ सङ्घ खुलेको छ । यो सङ्घले सिन्डिकेट लगाउन सुरु गरिसकेको छ ।

नयाँ भाडा दर तय गर्ने, पार्किङ शुल्क लिने, गाडीलाई क्यूमा राख्ने काम गरिसकेको छ । सङ्घले रोडमा राखेको गाडिबाट ५० रुपैयाँ पार्किङ शुल्क उठाउन थालिसकेको छ । त्यसैगरी उद्योगको सामान बोक्का लागि गाडी क्यूमा समेत राखिसकेको छ ।

सरकारले सिन्डिकेट अन्त्य गर्ने अभियान चलाएपछि पार्किङ उठाउन र गाडी क्यूमा राख्ने काम बन्द थियो । तर सरकारले सिन्डिकेटलाई अन्त्य गर्न नसकेपछि उनीहरुले तराई यातायात व्यवसायी सङ्घ खोलेर पुरानै धन्दा चलाउन सुरु गरेको उद्योगीहरु बताउँछन् ।

सरकार सिन्डिकेटधारीविरुद्ध कडा रुपमा उत्रिएपछि छिन्नभिन्न भएका यातायात व्यवसायी फेरि एक ठाउँमा उभिएका छन् । उनीहरु एकजुट भएर संस्था समेत खोलिसकेका छन् । ‘उनीहरुले कसरी संस्था खोले ? त्यो थाहा छैन्,’ एक उद्योगीले भने, ‘तर, अहिले तराई यातायात व्यवसायी सङ्घको जन्म भएको छ, त्यो सङ्घले नभनेसम्म गाडीहरु उद्योगमा आउँदैनन् ।’

यसअघिसम्म उद्योगीले सीधै ट्रान्सपोर्टरमार्फत गाडी बोलाउने गर्थे । तर, अहिले ट्रान्सपोर्टरले सङ्घमार्फत गाडी बोलाउन उद्योगीलाई भनिरहेका छन् । सङ्घले भनेबेगर ट्रान्सपोर्टरले गाडी समेत नपठाउने गरेको उद्योगीहरु बताउँछन् ।

यातायात समिति नखोल्दासम्म उद्योगीले चाहेजति गाडी पाउँदै आएका थिए । ‘तर, जुन दिनदेखि यातायात समिति गठन भएर काम सुरु गर्यो, त्यो दिनबाट मागअनुसार गाडी पाउन छाडेका छौं,’ भैरहवाका एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘मानौं, कुनै उद्योगको सामान बोक्न एक सय ओटा गाडी आवश्यक छन् भने यातायात व्यवसायी सङ्घले ९० ओटा मात्रै गाडी पठाउने गरेको छ । यसले गर्दा समयमा सामान पु¥याउन नसकिने तथा अभाव देखाएर बढी भाडासमेत लिने गरेका छन् ।’

उनीहरुले फेब्रअरी ११ तारिखमा नयाँ भाडादरसमेत सार्वजनिक गरेका छन् । उनीहरुले वीरगन्ज–काठमाडौं २३ हजार, वीरगन्ज–पोखरा २१ हजार, भैरहवा–काठमाडौं २३ हजार ५००, भैरहवा–पोखरा २१ हजार ५००, वीरगन्ज–धरान १७ हजार, वीरगन्ज काँकडभिट्टा २१ हजार, वीरगन्ज–कृष्णनगर १८ हजार, वीरगन्ज–धनगढी ३६ हजार, वीरगन्ज–महेन्द्रनगर ३६ हजार ५००, वीरगन्ज–दाङ–तुलसीपुर २२ हजार ५ सय रुपैयाँ तय गरेका छन् ।

उनीहरु एकजुट भएर पुरानो भाडादरमा १५ प्रतिशत वृद्धिसमेत गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागिरहेका बेला सङ्घले भाडा बढाएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले यो संस्था दर्ता भए÷नभएको हेर्ने बताइन् । ‘यो संस्था कहिले दर्ता भएको हो, यसको रेकर्ड हेर्छौं,’ उनले क्यापिटल नेपालसँग भनिन्, ‘यस विषयमा हामीलाई जानकारी छैन, तर आधिकारिक रुपमा गठन भएको हो कि होइन, हामी पत्ता लगाउँछौं ।’