चीनतिर नेपाली चाउचाउ, भारततर्फ ओरालो

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २२ करोड ५० लाखको चाउचाउ विदेश निर्यात भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । यसमध्ये २० करोड भारत र दुई करोडको चाउचाउ चीनतिर निर्यात भएको हो । ५० लाख रुपैयाँबराबरको चाउचाउ भने अन्य मुलुकमा निर्यात भएको छ ।

नेपालमा उत्पादन हुने चाउचाउले चिनियाँ बजार लिन थालेको छ । खाजा र खानामा ‘नुडल्स कल्चर’ भएको मुलुक चीनमा नेपाली ब्रान्डका चाउचाउको माग बढ्दै गएपछि यसले बजार लिन थालेको हो । नेपालबाट चीनतर्फ चाउचाउको निर्यात बढ्दै गए पनि भारततर्फको निर्यात भने घट्न थालेको छ । नेपालका एक दर्जन ब्रान्डले चिनियाँ बजारमा आफ्नो बजार बढाउँदै लगेका हुन् ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २२ करोड ५० लाखको चाउचाउ विदेश निर्यात भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । यसमध्ये २० करोड भारत र दुई करोडको चाउचाउ चीन निर्यात भएको हो । ५० लाख रुपैयाँबराबरको चाउचाउ भने अन्य मुलुक निर्यात भएको छ ।

आर्थिक वर्ष २०७३/७४ को समीक्षा अवधिमा २६ करोड रुपैयाँ बराबरको चाउचाउ भारत निर्यात भएको थियो । सोही अवधिमा चीनतर्फ भने ५० लाख रुपैयाँबराबरको मात्रै निर्यात भयो । पछिल्लो पटक तीन सय ११ प्रतिशतले चीनतर्फ चाउचाउ निर्यात बढेको हो ।
अहिले व्यावसायिक रुपमा यशोदा फुड्स प्रालि, सीजी फुड्स नेपाल प्रालि, पोखरा नुडल्स, हिमश्री फुड्स प्रालि, जगदम्बा फुड्स प्रालि, हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रालि, स्मार्ट फुड एन्ड स्न्याक्स प्रालि र एसियन थाई फुड्स प्रालिले चाउचाउ उत्पादन गर्दै आएका छन् । यीमध्ये गत वैशाखदेखि यशोदाले व्यवासायिक उत्पादन बजारमा ल्याएको हो ।

नेपालमा सञ्चालित चाउचाउ उद्योगमा चार अर्ब रुपैयाँ लगानी पुगेको छ । नेपालीमा खाजा तथा खानाका रुपमा चाउचाउ खाने प्रवृत्ति बढ्दै गएपछि यसको माग बढ्नु र त्यसैअनुरुप उद्योगीले लगानी थप्दै गएकाले यो क्षेत्रमा लगानी बढ्दै गएको नेपाल चाउचाउ उत्पादक सङ्घका अध्यक्ष अमित राठीले बताए ।

हाल नेपालमा सञ्चालित आठओटा उद्योगले व्यावसायिक रुपमा चाउचाउ उत्पादन गर्दै आएका छन् । सङ्घका अनुसार एउटा उद्योगमा न्यूनतम ५० करोड रुपैयाँ लगानी हुन्छ । त्यसरी हेर्दा आठओटा उद्योगमा चार अर्ब रुपैयाँ लगानी भएको देखिन्छ । सङ्घका अध्यक्ष राठीका अनुसार नेपालमा वार्षिक नौ अर्ब रुपैयाँबराबरको चाउचाउ उत्पादन हुँदै आएको छ । एकातिर नेपाली उत्पादन विश्व बजारमा फैलिँदै गएको छ भने अर्कोतिर उत्पादन पनि निर्यात हुँदै आएकाले उत्पादन बढेको उद्योगीको भनाइ छ ।

हाल नेपालबाट भारत, चीन, अस्ट्रेलिया, अमेरिका तथा युरोपका धेरै देशमा चाउचाउ निर्यात हुँदै आएको शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले जानकारी दिए । एसियन थाई फुडमार्फत रमपमलगायत विभिन्न चाउचाउ उत्पादन गर्दै आएका शारडाले अहिले पनि विश्वबजारमा आफ्नो उत्पादन पु¥याउँदै आएको छ । चाउचाउको एउटा उद्योगमा करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेको उद्योगीको भनाइ छ । सोअनुसार तयारी चाउचाउ उत्पादन गर्न सबै उद्योगमा गरेर अहिले करिब पाँच हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ ।

हाल नेपालमा करीब ७५ ब्रान्डका तयारी चाउचाउ उत्पादन हुने गरेका छन् । वाइवाई, मिहो, नानो, रमपम, प्रीति, रुचि, रारा, बजारमा चलेका केही तयारी चाउचाउका ब्रान्ड हुन् । अहिले उद्योगहरुले आफ्ना उत्पादनमा विविधता ल्याउँदै नयाँ ब्रान्डका चाउचाउसमेत उत्पादन थालेका छन् । एशियन थाई फूड्सले रमपम, टू पीएम, प्रितीलगायत १४ भन्दा बढी ब्रान्डका चाउचाउ उत्पादन गर्दै आएको शारडाले जानकारी दिए । त्यस्तै, सीजी फुड्सले वाइवाईलगायत १२ ब्राण्डमा तयारी चाउचाउ उत्पादन गर्छ । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा फुड्सले झन्डै ३ वर्षदेखि मिहो, नानोलगायत ब्रान्डमा तयारी चाउचाउ उत्पादन गर्दै आएको छ ।