सञ्जीव गौतमलाई सघाउने सचिव महेश्वर न्यौपाने हटाइए

मन्त्रीले पटकपटक सचिव न्यौपानेमार्फत गौतमलाई कारबाही गर्न निर्देशन दिए पनि बेवास्ता गर्दै आएकाले सचिव महेश्वर न्यौपाने हटाइएका हुन् । ‘मन्त्री देवलाई न्यौपानेले निरन्तर असहयोग गरेकाले सचिव हटाएका हुन्,’ मन्त्रालयका एक सहसचिवले क्यापिटल नेपालसँग भने ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई संरक्षण दिँदै आएका तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई विभागीय मन्त्री जितेन्द्रनारायण देवले हटाएका छन् ।

सञ्जीव गौतमले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण एवम् मुआब्जा वितरणमा ठूलो अनियमितता गरेको, एभिएसन म्युजियम बनाउने नाममा सरकारी जग्गा बिनाटेन्डर उपलब्ध गराएको विषयमा मन्त्रालय र अख्तियारमा उजुरी परेको थियो । मन्त्रीले पटकपटक सचिव न्यौपानेमार्फत गौतमलाई कारबाही गर्न निर्देशन दिए पनि बेवास्ता गर्दै आएकाले उनी हटाइएका हुन् । ‘मन्त्री देवलाई न्यौपानेले निरन्तर असहयोग गरेकाले सचिव हटाएका हुन्,’ मन्त्रालयका एक सहसचिवले क्यापिटल नेपालसँग भने ।

मन्त्रीले गौतमलाई हटाउन प्रक्रिया अघि बढाउन निरन्तर निर्देशन दिएका थिए । तर, न्यौपानेले विभिन्न बहाना बनाएर गौतमलाई बचाउँदै आएका हुन् । पोखरा, सिमरा तथा प्राधिकरणकै कर्मचारीले समेत गौतमले ठूलो भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत उजुरी दिएका थिए । अख्तियारले दुईओटा फाइललाई विस्तृत अध्ययनमा पठाइसकेको बेला न्यौपाने जोगाउन थालेपछि मन्त्री र सचिवबीच मनमुटाव बढेको थियो । न्यौपानेले मन्त्रिपरिषद् बैठकमा गौतमको फाइलसमेत लैजानका लागि आवश्यक कामकारबाही समेत गरेका थिएनन् ।

यसअघि उद्योग विभागको महानिर्देशक सम्हाल्दा पनि न्यौपाने विवादमा तानिएका थिए । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले उनलाई मन्त्रालयका तानेका थिए । पछि मन्त्रालयको सचिव भएर गएपछि पनि निरन्तर विवादमा पर्दै आएका गौतमलाई जोगाउन थालेपछि सरुवा गरेको हो । सचिव न्यौपानेमाथि दसैंको बेला एक ट्राभल कम्पनीको सौजन्यमा सपरिवार मलेसिया भ्रमणमा गएको र आर्थिक लाभ लिएको उजुरी मन्त्रालयमा परेको थियो । न्यौपाने दसैं बिदामा ६ दिन मलेसिया भ्रमणमा गएका थिए ।