२०७४ साल असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७२ साल असारमा ८ करोड ७९ लाख ९५ हजार ४९७ रुपैयाँमा साढे चार किलोमिटर सडक पिच गर्ने लगायतका अन्य कार्य गर्नेगरी ठेक्का सम्झौता गरेको श्रेष्ठ समानता जेभीले हालसम्म पनि काम सम्पन्न नगरेकाले दोलखा आउने आन्तरिक धार्मिक पर्यटकका लागि समस्या भएको छ ।
चरिकोटबाट दोलखा जाने साढे चार किलोमिटर सडक अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक अलपत्र परेको हो ।
२०७४ साल असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७२ साल असारमा ८ करोड ७९ लाख ९५ हजार ४९७ रुपैयाँमा साढे चार किलोमिटर सडक पिच गर्ने लगायतका अन्य कार्य गर्नेगरी ठेक्का सम्झौता गरेको श्रेष्ठ समानता जेभीले हालसम्म पनि काम सम्पन्न नगरेकाले दोलखा आउने आन्तरिक धार्मिक पर्यटकका लागि समस्या भएको छ ।
दोलखाको आकर्षण भीमेश्वर मन्दिरमा हरेक शनिवार आउने धार्मिक पर्यटकहरुमा यो सडकले दोलखाको छवि नकारात्मक बनाएको काठमाडौंबाट आमाबाबुसहित भीमसेनको दर्शन गर्न आएका भक्तपुरका श्याम कोजु बताउँछन् । दोलखाको उत्तरी भेगलाई सदरमुकामसँग जोड्ने मुख्य सडक पनि यही भएकोले समग्र दोलखाको उत्तरी भेगनै यो सडकको दुरावस्थाबाट प्रभावित छ । सडक आसपासका गौतम टोल तथा तिखातलका बासिन्दाले धूलो र हिलोको पीडा भोग्नुपरेको छ ।
डिभिजन सडक कार्यालय दोलखाका अनुसार श्रेष्ठ समानता जेभीले सम्झौताअनुसार सडक विस्तार, कटिङ, मेसिनरी, प्रोटेक्सन वाल, स्ल्याब कल्भर्ट, ग्याबिङ मेसिनरी, मेसिनरी वाल तथा प्रिमिक्स पिच गर्नु पर्ने हुन्छ । गत असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनीले अहिलेसम्म सामान्य प्रोटेक्सन, ग्याविङ र मेसिनरी वाल तथा कटिङबाहेक अन्य काम गरेको छैन । कछुवाको गतिमा काम गरेपनि पेश्की तथा रनिङसहित कम्पनीले ३ करोड ८५ लाख ५९ हजार ६०१ रुपैयाँ लिइसकेको छ ।
ठेकेदारले कामै नगरेको अवस्थामा २०७३ माघ ११ मा १४.९२ प्रतिशत भेरिएसन स्वीकृत भएबाट डिभिजन सडक कार्यालयले गरेको काम पनि शङ्कास्पद भएको स्थानीय हरिप्रसाद गौतमले बताए । तर सूचना अधिकारी कमल शाहले भने दुईओटा स्ल्याब कभर्टलाई बक्स कल्भर्टमा परिवर्तन गर्नुपर्ने तथा अन्य संरचनामा पनि सामान्य परिवर्तन गर्नुपर्ने अवस्था आएकोले भेरिएसन गरिएको बताए । सार्वजनिक खरिद ऐन अनुसार नै आवश्यक ठानेर भेरिएसन विभागबाट स्वीकृत भएको तथा यो कानुनसम्मत नैं भएको उनको दाबी छ ।
भूकम्पका कारण समयमै काम गर्न समस्या भएको तथा अब दु्रत गतिमा काम अगाडि बढाइने श्रेष्ठ समानता जेभीका प्रतिनिधि ओम शिवाकोटीले बताए ।