मन्दी कम रहन्छ तर विश्व अर्थतन्त्र घिस्रिन्छ यो वर्ष

यो वर्ष गम्भीर आर्थिक डाउनटर्नको भविष्यलाई लिएर बजारमा व्यापारी तथा लगानीकर्ताहरुमा तनाब बढेको छ । लामो समयदेखि चलिरहेको अमेरिका र चीनको व्यापार तनाब र युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको अनिश्चितताले हालका महिनाहरुमा व्यापारी तथा उपभोक्ताहरुको भावनालाई निरास बनाएको छ ।

एजेन्सी । ग्लोबल एसेट म्यानेजमेन्ट ग्रुप ज्यानस हेन्डर्सनका कोष व्यवस्थापकले विश्व अर्थतन्त्र ‘निष्क्रिय, कमजोर’ विकासको समयतर्फ उन्मुख भइरहेको बताएका छन् । तर पूर्ण मन्दीको खतरा भने सानो रहने उनको भनाइ छ ।

यो वर्ष गम्भीर आर्थिक डाउनटर्नको भविष्यलाई लिएर बजारमा व्यापारी तथा लगानीकर्ताहरुमा तनाब बढेको छ । लामो समयदेखि चलिरहेको अमेरिका र चीनको व्यापार तनाब र युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको अनिश्चितताले हालका महिनाहरुमा व्यापारी तथा उपभोक्ताहरुको भावनालाई निरास बनाएको छ ।

अधिकांश अर्थविद् तथा विश्वका ठूला व्यापारी वर्गले आर्थिक विकासको गति कमजोर भइरहेको कुरामा सहमत भएका छन् । तर नीति निर्माणकर्ताहरुले भने पूर्ण मन्दीको खतरा नहुने कुरामा आशा व्यक्त गरेका छन् । ‘विश्व अर्थतन्त्र यो समय अवश्य पनि सुस्त गतिमा छ । मलाई लाग्दैन, पछिल्लो वर्षझै यो वर्ष अर्थतन्त्र बलियो रहनेछ,’ ग्लोबल इक्विटी इनकमका लगानी निदेर्शक जेन सुमेकले जेनस हेन्डर्सन इन्भेस्टर्समा सीएनबीसी समाचारसँग भनिन् । जेनले आफूहरुको मूल अनुमान मन्दीको नभएर कमजोर र निष्क्रिय अर्थ विकासमाथि भएको बताइन् ।

त्यसको विपरीत नोबर पुरस्कार विजेता अर्थविद् पौल क्रुगम्यानले यस महिनाको सुरुवातमा विश्व अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन हुने चेतावनी दिएका थिए । उनले विश्व अर्थतन्त्र यस वर्षको अन्त्यमा वा आगामी वर्षको सुरुवातमा मन्दीतर्फ जाने चेतावनी दिएका हुन् । क्रुगम्यानले भन्छन्, ‘२०१९ मा मन्दीको एकदमै धेरै सम्भावना छ ।’ साथै उनले यदि अर्थतन्त्रको गति धुमिल भएको खण्डमा आर्थिक नीति निर्माणकर्ताहरुसँग प्रभावकारी प्रतिक्रिया नभएको बताउँदै चिन्ता व्यक्त गरे ।

फेब्रुअरीको सुरुवातमा युरोपेली आयोगले २०१९/२० को युरोजोनको आर्थिक विकास कडारुपले ओरालो लाग्ने अनुमान सार्वजनिक गरेको थियो । आयोगले युरोजोनको आर्थिक विकासको गति अघिल्लो वर्षको १.९ प्रतिशतबाट झरेर यसवर्ष १.३ प्रतिशतमा झर्ने र २०२० मा पुग्दा १.६ प्रतिशतमा फर्किने अपेक्षा गरेको छ ।

ईयू कार्यकारीको अघिल्लो आर्थिक पूर्वानुमानको तुलानामा यो पछिल्लो अनुमानहरु कम आशावादी थिए, जसले युरोपमा आर्थिक अधोन्नति फैलिरहेको त्रासलाई अझ खराब ढंगले प्रस्तुत गरेको छ । सुमेक भन्छिन्, ‘विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आर्थिक अधोन्नतिले पनि विश्व अर्थतन्त्रमा मन्दी ल्याउने चिन्तालाई बढाएको त छ । तर युरोपको अवस्था भने यो मामिलामा वास्तविक चिन्ताको विषय हो ।’

बुधबार लगानीकर्ताहरुले अमेरिकी बैङ्किङ प्रणाली फेडरल रिजर्भको अन्तिम नीति वार्ताको विज्ञप्तिलाई निकै नजिकबाट नियालेका थिए । ती विज्ञप्तिबाट लगानीकर्ताहरुलाई यस वर्षपछि कुनै पनि ब्याजदर वृद्धिको भविष्यबारे राम्रो सल्लाह दिने अपेक्षा गरिएको छ ।