समितिमा ३१ वटा संस्थानलाई बोलाइएकोमा ७ वटा संस्थानका प्रतिनिधिहरु भने उपस्थित भएका थिएनन् । समितिमा सार्वजनिक गरिएका अधिकांश संस्थानको बेरुजु देखिएको छ ।
काठमाडौं । संसद्को सार्वजनिक लेखासमितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महिनाभित्र लेखापरीक्षण गर्न निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहाले विभिन्न संस्थानहरुको बेरुजु र कार्यप्रगतिको अवस्थाबारे जानकारी लिँदै तीन महिनाभित्रमा लेखापरीक्षण गर्न निर्देशन दिएका हुन् ।
समितिले बेरुजु फछ्र्योटमा तदरुकतासाथ कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै फरफारक गर्न सम्बन्धित संस्थानहरुलाई अनुरोध निर्देशन गरेको हो । यस्तै आर्थिक कारोबार गर्दा बेरुजु कायम नहुनेतर्फ ध्यान नदिई बेरुजु बढिरहेको र बेरुजु फछ्र्यौटमा समेत उदासीनता देखिएको अवस्थामा सम्बन्धित पदाधिकारी वा कर्मचारीको अभिलेख राखी सरुवा, पदस्थापन वा वृत्ति विकासका अवसर प्रदान गर्दा सोको आधार बनाउने, दण्ड र पुरस्कारको व्यवस्था गरी बेरुजु न्यूनीकरण गर्न तथा भएको बेरुजु फछ्र्योट गर्न निर्देशन दिएको छ ।
यस्तै महालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)ले फागुन मसान्तभित्र लेखापरीक्षण सम्पन्न गर्न सबै संस्थानहरुलाई अनुरोध गरेका छन् । लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले धेरै संस्थानहरुको लामो समयदेखि लेखापरीक्षण नभएको र बेरुजु पनि धेरै रहेको पनि ध्यानाकर्षण गराएका छन् । उनले उदयपुर सिमेन्ट उद्योग, गोरखापत्र संस्थान, खानेपानी संस्थान, गुठी संस्थान, नागरिक लगानी कोष र नेपाल पर्यटन बोर्डमा धेरै समस्या देखिएको बताएका छन् । पर्यटन बोर्डमा पुराना स्रेस्ताहरु समेत नभेटिएको जानकारी दिएका छन् ।
समितिमा ३१ वटा संस्थानलाई बोलाइएकोमा ७ वटा संस्थानका प्रतिनिधिहरु भने उपस्थित भएका थिएनन् । समितिमा सार्वजनिक गरिएका अधिकांश संस्थानको बेरुजु देखिएको छ ।