प्राथमिकता क्षेत्रमा तोकिएअनुसार ऋण लगानी भएन

नेपाल राष्ट्र बैङ्कले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कुल कर्जाको न्यूनतम दश प्रतिशत लगानी गर्नुपर्नेमा ९ दशमलव ९३ प्रतिशत लगानी गरेको पाइएपनि अन्य क्षेत्रमा भने तोकेअनुसार लगानी नभएको पाइएको छ । 

काठमाडौँ । वाणिज्य बैङ्कहरुले कुल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महिनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैङ्कले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कुल कर्जाको न्यूनतम दश प्रतिशत लगानी गर्नुपर्नेमा ९ दशमलव ९३ प्रतिशत लगानी गरेको पाइएपनि अन्य क्षेत्रमा भने तोकेअनुसार लगानी नभएको पाइएको छ ।

केन्द्रीय बैङ्कले प्राथमिकता प्राप्त क्षेत्र कर्जाका रुपमा ऊर्जा र पर्यटनमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर वाणिज्य बैङ्कले ऊर्जामा ४ दशमलव २१ प्रतिशत र पर्यटनमा ४ दशमलव ४० प्रतिशत मात्रै लगानी गरेका छन् । अझै बैङ्कले ६ दशमलव ३९ प्रतिशत कर्जा उपलब्ध गराउनुपर्ने अवस्था छ ।

सरकारले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तार गर्ने, रोजगारीको प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्राथमिकता प्राप्त क्षेत्र कर्जा दिने व्यवस्था गरेको छ । यस्तै सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा पर्यटन क्षेत्रमा समेत उल्लेख्य लगानी हुन नसकेको राष्ट्र बैङ्कको उक्त विवरणले देखाएको छ ।

यस्तै आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा पनि ऊर्जा क्षेत्रमा वाणिज्य बैङ्कहरुले उल्लेख्य मात्रामा लगानी गर्नुपर्ने भए पनि तथ्याङ्कले भने अवस्था त्यस्तो नभएको देखाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनाका प्रवर्द्धकसँग वित्तीय सम्झौता गर्न छाडेको भन्दै निजी क्षेत्रको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले गुनासो गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले विद्युत् खरिद सम्झौता सम्पन्न भएका तीन दर्जन बढी आयोजनाका प्रवर्द्धकसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुन नसकेको बताए ।

यस्तै वित्तीय सम्झौता भएका आयोजनमा समेत बैङ्क तथा वित्तीय संस्थाले रकम उपलब्ध नगराएको र पटक–पटक ब्याजदरमा वृद्धि गरेका कारण प्रवर्द्धक समस्यामा परेको इपानको गुनासो छ ।

प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएबमोजिम कर्जा लगानी नभएपनि चालू आवको छ महिनामा १८ अर्ब ६१ करोड रूपैयाँबराबरको सहुलियतपूर्ण कर्जा भने लगानी भएको छ । सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १० हजार ४८४ ऋणि छन् । उनीहरुले ८८ करोड ७७ लाख रूपैयाँबराबरको ब्याज अनुदानसमेत प्रदान गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै विपन्न वर्ग कर्जातर्फ चालू आवको छ महिनामा एक खर्ब ६१ अर्ब ३६ करोड रूपैयाँबराबरको लगानी भएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीले आफ्नो कुल कर्जा लगानीको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था छ । कुल कर्जाको ५ दशमलव ९ प्रतिशत सो क्षेत्रमा लगानी भएको छ ।

यस्तै गत पुस मसान्तसम्म दुई अर्ब ६५ करोड बराबरको लगानी भूकम्पपीडित कर्जा उपलब्ध भएको छ । एक हजार ५५८ जनाले त्यस्तो कर्जा लिएको बैङ्कको विवरणमा उल्लेख छ । रासस