जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला

परासी । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् ।

यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।

चिसापानी सामुदायिक वनअन्तर्गत स्थापना भएको चिसापानी सामुदायिक जडीबुटी प्रशोधन उद्योगले कच्चा तेल उत्पादन गरी विदेश पठाउने गरेको छ । उद्योगले सुगन्धित तेल उत्पादन गरी विदेश पठाउने गर्दा जडीबुटीको माग बढ्दै जान थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन् ।

जङ्गलमा खाली रहेको जग्गामा व्यावसायिकरूपमा जडीबुटी खेती गरेर २६५ महिलाले आयआर्जन गरी रोजगारी पाइरहेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङले बताए। ‘हाम्रोसहित जिल्लाका अन्य छ सामुदायिक वनमा महिलाले समूह बनाएर जुडीबुटी खेती गरिरहेका छन्, लेमनग्रास, तामारोजर, मिटानेला, मेन्था, पचौली, जटामसीलगायतको प्रशोधन हुने भएकाले महिलाले त्यही खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्’, उनले भने।

अध्यक्ष गुरूङका अनुसार चिसापानी सामुदायिक वनमा १५, पारिजात सामुदायिक वन बर्दघाटमा २२, दाउन्नेदेवी सामुदायिक वनमा ३३, सीतापोखरी सामुदायिक वनमा ६५, संसारकोट हरियाली सामुदायिक वनमा २७ र जनउदय सामुदायिक वन सुनवलमा २५ महिलाले समूहमा जडीबुटी खेती गरिरहेका छन् ।

एकपटक लगाएपछि पाँच वर्षसम्म त्यसबाट उत्पादन लिन पाइने भएकाले अधिकांश महिलाले भने बहुवर्षे लेमनग्रासको खेती गरेका छन् । जडीबुटी खेतीबाट मासिक १८ हजारको दरले महिलाले आम्दानी गरिरहेको लालिगुराँस जडीबुटी कृषक समूहले जनाएको छ । यो समूहले जटामसीको खेती गरिरहेको छ ।

उत्पादन भएपछि व्यापारी आएर किन्ने र तत्कालै नगद पाइने भएकाले महिलालाई रोजगारीसमेत मिलेको छ । चिसापानी सामुदायिक वनमा उद्योग स्थापना भए पनि सुगन्धित तेलको उत्पादन गरी निकासी गर्ने काम भने दोलखाको हिमालय वायो ट्रेड लिमिटेड र काठमाडौँको एभरेष्ट एरोमा प्रालिले गर्दै आएको छ ।

विसं २०६८ मा स्थापना गरिएको उक्त उद्योगको सुगन्धित तेल बुटवलस्थित ह्वील डिर्टजेन्ट पाउडर उद्योगले पनि लैजाने गरेको छ । उत्पादित कच्चा तेल किन्न व्यापारी उद्योगमै आउने गरेका छन् । उद्योगमा सामुदायिक वनको रु १६ लाख लागतको आफ्नै एउटा भेसल र चौधरी वाइसिज, डब्लुसिएनको सहयोगमा पाएको रु २२ लाख लागतको आधुनिक मोबाइल भेसलबाट तेल उत्पादन हुने गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष कमल परियारका अनुसार उक्त उद्योगबाट वार्षिक डेढ क्विन्टल बढी कच्चा तेल उत्पादन हुने गरेको छ । ‘बजार पनि राम्रो रहेको, जङ्गलमा खेर गइरहेको जडीबुटीको उपयोग भएको, महिलाले रोजगारी पाएको तथा अनावश्यक समयको सदुपयोग भएकाले यस किसिमका उद्योगलाई थप प्रवद्र्धन गर्न आवश्यक छ’, उनले भने।

पछिल्लो समय फिलिपिन्सबाट पनि यहाँको माग आइरहेको सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । कच्चा वस्तुका रूपमा निकासी भइरहेकाले प्रशोधन गरी तयारी वस्तुको रूपमा निकासी गर्न सके अधिकतम लाभ लिन सकिने यस क्षेत्रका सरोकारवालाको भनाइ छ ।