विश्वकप एसिया छनोट : तेस्रो खेल यूएईसँग

थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा यूएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका सुरुआती तीन खेल जितेर यूएई बलियो अवस्थामा छ । यूएई तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा छ । 

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा यूएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका सुरुआती तीन खेल जितेर यूएई बलियो अवस्थामा छ । यूएई तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा छ ।

यूएईविरुद्व जीत निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महिना थाईल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले यूएईलाई छ विकेटले पराजित गरेको थियो ।

नेपाल भने आफ्नो दोस्रो खेलमा थाईल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहीबार भएको खेलमा नेपाल थाईल्याण्डसँग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो ।

प्रतियोगिताको एसिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । रासस