डेजा भू क्लबका तीन सञ्चालक ठगी अभियोगमा पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजा भूका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ तथा समित सिलाकारलाई बिहीबार दरबारमार्गबाट पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौंको दरबारमार्गमा सञ्चालित डेजा भू क्लबका तीन जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजा भूका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ तथा समित सिलाकारलाई बिहीबार दरबारमार्गबाट पक्राउ गरेको हो ।

डेजा भू क्लब बनाउँदा सेयर दिने भन्दै विश्वराम श्रेष्ठसँग दुई करोड रुपैयाँ लिएर पनि सेयर नदिएको तथा रकम पनि फिर्ता नगरेपछि श्रेष्ठले प्रहरीमा उजुरी गरेका थिए ।

श्रेष्ठले दिएको उजुरीका आधारमा तीन जना सञ्चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर कामठाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई ठगी मुद्दामा कारबाही अघि बढाइएको उनले बताए ।

केही समयअघि अमेरिकन डीजे मार्समेलोलाई एक कार्यक्रममा ल्याउने भन्दै क्लब सञ्चालकले करोडौं रुपैयाँका टिकट बेचेको र पछि डीजे नआएपछि टिकट लिएकाहरुले आक्रोशमा क्लब तोडफोड गरेका थिए ।

केही समयसम्म बन्द रहेको क्लब पुनः निर्माण गर्दा क्लब सञ्चालकले सेयर दिने भन्दै श्रेष्ठसँग दुई करोड रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।