प्राधिकरणले चालू आर्थिक वर्षमा ५५ वटा सवस्टेनको निर्माण र स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । चालू आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न गर्ने प्राधिकरणको योजना छ । पछिल्लो एक वर्षमा प्राधिकरणले १९ वटा ग्रिड र २० वटा वितरण सवस्टेसनको निर्माण गरेको छ ।
काठमाडौं : बिजुलीको लाइन जोडिए पनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिक रुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन । लामो प्रसारण लाइनका कारण हावा हुरी चल्नेबित्तिकै टुकी जस्तो मधुरो बिजुली पनि निभ्थ्यो ।
सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ का ग्रामीण क्षेत्रको समस्या यस्तै थियो । सङ्घीय संसद्मा सांसदहरुले यो विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । तर समस्या समाधान हुन समय लाग्यो । प्राधिकरणले प्रसारण लाइन र सवस्टेशनको स्तरोन्नति नगर्दा समस्यामा परेका थिए त्यस क्षेत्रका विद्युत् उपभोक्ता । तर पछिल्लो समय प्राधिकरणले उपभोक्ताको ती गुनासो सम्बोधन गर्ने लक्ष्यसाथ नियमितरुपमा सवस्टेशनको क्षमता वृद्धि र नयाँ सवस्टेशन सञ्चालनमा ल्याएको छ ।
पछिल्ला चार दिनमा पाँच नयाँ सवस्टेशन उद्घाटन गरिएको छ । सवस्टेशनको क्षमता वृद्धि, कन्डक्टर, ट्रान्सफर्मर फेरिएको छ । विद्युत् आपूर्ति नियमित गराउन र बत्ती चाहिएको समयमा उपलब्ध हुने व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सवस्टेसनको उद्घाटन गरे ।
यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सवस्टेसनको उद्घाटन गरे ।
मन्त्री पुनले बिहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न १३२/३३ केभी सवस्टेसनको उद्घाटन गरे । एकैपटक पाँच वटा सवस्टेशनको उद्घाटनपछि ती क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । टुकी जस्तो मधुरो बल्ने विद्युत् अब चहकिलो र भरपर्दो हुने बिश्वास बढेको छ । विद्युत्भार कटौती अन्त्यपछि विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आवमा ३० ग्रिड तथा २० वटा वितरण सवस्टेसनको निर्माण एवं स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ । उपत्यकालगायत देशैभर पाँच हजार नयाँ ट्रान्सफर्मर फेरिँदै छ ।
प्राधिकरणले चालू आर्थिक वर्षमा ५५ वटा सवस्टेनको निर्माण र स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । चालू आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न गर्ने प्राधिकरणको योजना छ । पछिल्लो एक वर्षमा प्राधिकरणले १९ वटा ग्रिड र २० वटा वितरण सवस्टेसनको निर्माण गरेको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले आगामी दिनमा मुलुकभित्र उत्पादित विद्युत्लाई स्वदेशमै खपत गर्ने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं स्तरोन्नति कार्य अभियानकैरुपमा अगाडि बढिरहेको बताउँछन् ।
“विगतमा विकराल विद्युत्भार कटौतीले अध्याँरोमा थियौँ, त्यसको अन्त्य भई उज्यालो आएकोले विद्युत् खपत बढाउन उद्योग कलकारखाना खोल्नेतर्फ लाग्नुपर्छ”, उनले भने, “बिजुलीको माग सँगै पर्याप्तमात्रामा उत्पादन हुँदै छ । यसको बढी खपत गरी उत्पादन बढाइ जीवनयापनमा सुधार गर्न प्रसारण तथा वितरणका संरचना सोहीअनुसार बनाइरहेका छौँ ।”
तर समस्या निर्माण व्यवसायीमा छ । कतै वनको समस्या त कतै जग्गाप्राप्तिको समस्या । “समस्यासँग जुध्दै राज्यको दायित्व पूरा गर्ने योजनामा सरकार छ, समस्या समाधान गर्दै हामी समृद्धिको लक्ष्यमा पुग्छौँ”, मन्त्री पुनले भने। उनले निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न आग्रह गर्नुभयो । समयमै काम सक्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने मन्त्रालयको सोच छ ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति ल्याएको छ । प्राधिकरणले सवस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सवस्टेसन बनाउनेजस्ता काम गरिरहेको छ ।
निजी लगानीको सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत् लाइन विस्तार गर्ने सरकारी नीतिअनुरुप निर्माण गरिएको कुसुम (बाँके) हापुरे (दाङ) १३२ केभी प्रसारण लाइन र १३२/३३ केभी सवस्टेसनको निर्माण सम्पन्न भएको छ । रु ४३ करोडमा बनेको सो आयोजनाबाट दाङमा संरचनामा रहेका र स्थापना हुने क्रमका सिमेन्ट उद्योगले पर्याप्त विद्युत् पाउनेछन् । साथै उपभोक्ताले सर्वसुलभ रुपमा विद्युत् प्रयोग गर्नेछन् ।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार रहेको बताए । “यसबाट विद्युत्को पहुँच बढ्ने छ । विद्युत् आपूर्तिमा सुधार भई उपभोक्तालाई भरपर्दो र उद्योगलाई पर्याप्त विद्युत् दिन सक्नेछौँ,” उनले भने ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युत् आपूर्तिलाई गुणस्तरीय बनाउन सवस्टेसन निर्माण तथा स्तरोन्तिको काम देशभरि चलिरहेको जानकारी दिए । “हामीले चलाएको अभियानबाट प्राविधिक चुहावट नियन्त्रण र भोल्टेजमा सुधार हुने छ, उपभोक्तालाई मागेजति विद्युत् दिन सकिन्छ”, उनले भने ।
औद्योगिक क्षेत्रमा प्रसारण रिङ
प्राधिकरणले जनकपुर, हेटौँडा, चितवन, भैरहवालगायतका क्षेत्रमा प्रसारण रिङ बनाउने भएको छ । ती क्षेत्रका र आगामी दिनमा विस्तार हुने उद्योग तथा विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर १३२ केभी क्षमताको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेको छ । पूर्वाधार तयार भएपछि मागअनुसारको विद्युत् आपूर्ति गर्न सकिन्छ भने ‘ट्रिपिङ’ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति हुनेछ ।