२० किसान तथा कृषि विशेषज्ञ भारतमा प्राङ्गारिक खेतिको तालिम लिँदै

काठमाडाैं । ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोस्रो टोलीले भारतको गाजियाबाद स्थित नेसनल सेन्टर फर अग्र्यानि फार्मिङमा एक महिने तालिम लिइरहेका छन् । तालीम माघ १८ देखि सुरु भएर फागुण १८ गते सम्म सञ्चालन हुनेछ ।

यस अघि २० नेपाली किसानले कार्तिक २९ देखि मङ्सिर २८ सम्म तालीम लिएर फर्किएका थिए । माटोको स्वास्थ्यलाई सुधार गर्न प्रमाणित प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्ने, जैविक मल तथा जैविक किटनासक उत्पादन इकाईको स्थापना गरी प्राङ्गारिक बीउको आपूर्तिलाई सुनिश्चित गर्ने, नेपाली विशेषज्ञ तथा किसानको मानव स्रोत विकास गरी माटो परीक्षण तथा प्राङ्गारिक प्रमाणीकरणमा क्षमता विस्तार गर्ने उद्देश्य रहेको थियो ।

 

२०७४ चैत्रमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को सुरुआत गरेको थिए । त्यसपछि २०७५ आसारमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नयाँ दिल्ली स्थित इन्डियन एग्रिकल्चर रिसर्च इन्ष्टिच्युट तथा गाजियावाद स्थित नेसनल सेन्टर फर अग्र्यानिक फार्मिङको भ्रमण गर्नुका साथै भारतीय समकक्षी कृषि तथा किसान कल्याण मन्त्री राधा मोहन सिंह सँग पनि भेट भएको थियो ।