नेपालको विकासमा बेलायतको चासो

काठमाडौं । बेलायतको भ्रमणमा रहेका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन्।

नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहेका उनीसँग आज त्यहाँको संसद् हाउस अफ कमन्समा भएको भेटमा राज्यमन्त्री वेटस्ले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, सङ्घीयता कार्यान्वयन र विकासको बारेमा जिज्ञासा राखेको अर्थ मन्त्रालयले जनाएको छ ।

जवाफमा मन्त्री खतिवडाले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको बताउँदै समावेशीताको अभ्यास भइरहेको बताए। नेपालको संसद्मा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एक तिहाइभन्दा बढीको प्रतिनिधित्व रहेको जानकारी दिए।

नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउने प्रतिबद्धता राज्यमन्त्री वेटस्ले व्यक्त गरेका थिए। अर्थमन्त्रीले बेलायतका दुई दर्जनभन्दा बढि कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग आजै छलफल गरी नेपालमा लगानीको अवसर, वातावरण र प्रतिफल सुनिश्चित रहेको स्पष्ट पारेको उक्त मन्त्रालयले जनाएको छ।

आगामी चैत १५ र १६ गते नेपालमा आयोजना हुने लगानी सम्मेलनमा सक्रिया सहभागिताका निम्ति मन्त्री खतिवडाले उद्यमीहरुलाई आग्रह पनि गरे।