भक्तपुर तरकारी बजारको प्रचण्डद्वारा उद्घाटन

काठमाडौं । गत माघ १ गतेदेखि सञ्चालनमा आएको भक्तपुर तरकारी तथा फलफूल बजारको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले औपचारिक रूपममा उद्घाटन गरेका छन्।

ठिमी चारदोबाटोमा शनिबार आयोजित कार्यक्रममा दाहालले तरकारी बजारको औपचारिक उद्घाटन गरेका हुन्।

सो अवसरमा उनले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुनसक्ने बताए।

कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेकोमा उनले जोड दिए। उनले भने, ‘नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकरण र विविधीकरण नै हो। कृषि र यसको उद्योगको विकास भए मात्रै देशको समृद्धिको विकास हुन्छ।’ कृषि उत्पादन वृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर कृषि उद्योगहरू सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यावसायिकरण र बजार व्यवस्थापनका लागि सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिएर देशभर पाँच स्थानमा कृषि बजार बनाउने तयारी गरिरहेको बताए।

मन्त्री खनालले तरकारीमा विषादी घटाउन, रासायनिक मलको प्रयोग कम गर्न र अग्र्यानिक कृषि उत्पादन वृद्धि गर्न सरकारले ७ हजार विगाहा जमिनको व्यवस्था गरिसकेको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का महानिर्देशक टेकबहादुर गुरुङले कृषिलाई आधुनिक र वैज्ञानिक ढंगबाट विकास गर्दै कृषि उत्पादन बढाउन नार्कले विभिन्न अनुसन्धानात्मक काम गरिरहेको र अर्ग्यानिक खेतीको विकासका लागि योजना बनाइरहेको बताए।

भक्तपुरका व्यवसायी श्यामसुन्दर बस्नेतले आठ रोपनी क्षेत्रफलमा सुरू गरेको उक्त तरकारी बजारमा १३० सटर र १५० स्टल गरी २८० वटा तरकारी तथा फलफूल पसल रहनेछन् । कार्यक्रममा बजार सञ्चालक बस्नेतले अब भक्तपुरको गाउँगाउँमा तरकारी संकलन केन्द्र सञ्चालन गर्दै तरकारी उत्पादन, संकलनसहित सुपथ मूल्यमा ताजा तरकारी उपलब्ध गराउने बताए । अब बिचौलियाको अन्त्य हुने र कृषकले उचित मूल्य घरआँगनमै पाउने उनको भनाइ थियो ।

मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, जिउँदो माछा, मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोबार गर्न सहज हुने गरी सहकारी संस्थासमेत बजारमा हुनेछन्।