सूर्य नेपाल र वरुण वेभरेजलगायत आधा दर्जन कर्पोरेट हाउसको कर मुद्दा सर्वोच्चमा, आयकर र भ्याट नतिरेको दाबी

सूर्य नेपालका अतिरिक्त वरुण वेभरेज प्राइभेट लिमिटेड, पायनिर वायर्स, सोल्टी होटल्स लिमिटेड, राजेश मेटल क्राफ्ट, सिद्धि गणेश इन्टरप्राइजेज र नेपाल कमर्सियल इन्टरप्राइजेजको मुद्दा अहिले सर्वोच्चमा छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडलगायत आधा दर्जन कर्पोरेट हाउसको कर विवाद मुद्दाको सुनुवाइ सोमबार सर्वोच्च अदालतमा सुरु भएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र वमनकुमार श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सूर्य नेपालका अतिरिक्त वरुण वेभरेज प्राइभेट लिमिटेड, पायनिर वायर्स, सोल्टी होटल्स लिमिटेड, राजेश मेटल क्राफ्ट, सिद्धि गणेश इन्टरप्राइजेज र नेपाल कमर्सियल इन्टरप्राइजेजको मुद्दा अहिले सर्वोच्चमा छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

आयकर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सूर्य नेपालका विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको छ । यस्तै सूर्य नेपालले पनि ठूला करदाता कार्यालय विरुद्ध दायर गरेको मुद्दाको पनि सुनुवाइ हुँदैछ । दुवैको ६ ओटा मुद्दा सर्वोच्चमा विचाराधीन छन् । सूर्य नेपाल भारतीय लगानीमा स्थापना भएको बहुराष्ट्रिय उद्योग हो ।

२०६५ पुस २ गते ठूला करदाता कार्यालयले सूर्य नेपाल विरुद्ध मुद्दा दायर गरेको हो । त्यसपछि ०६७ असार २७ र माघ ११ गते कार्यालयका विरुद्ध सूर्य नेपालले मुद्दा दायर गरेको थियो । सूर्य नेपाल नेपालको ठूलो चुरोट उत्पादन कम्पनी हो । सूर्यले वार्षिक अर्बौं रुपैयाँ सरकारलाई कर बुझाउँदै आएको छ ।

यस्तै पेप्सी, डिऊ र मिरिन्डालगायत पेयपदार्थ उत्पादन गर्दे आएको भारतको वरुण वेभरेजका विरुद्ध परेको मुद्दाको पनि सोमबार सुुनुवाइ हुँदै छ । वरुणले मूल्य अभिवृद्धि कर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको हो । वरुण वेभेरेजका विरुद्ध कर कार्यालयले भ्याट नतिरको भन्दै ८ ओटा मुद्दा दायर गरेको हो । वरुणले आर्थिक वर्ष ०६०/०६१ देखि ०६३/०६४ सम्म भ्याट नतिरेको पाइएको छ ।

यस्तै पायनियर वायर्सले पनि ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागका विरुद्ध ०६५/०६६ देखि ०६७/०६८ सम्मको आयकर विवाद सर्वोच्चमा पुगेको हो । पायनियरले ठूला करदाता कार्यालयका विरुद्ध ३ ओटा र कर कार्यालयले पायनियरका विरुद्ध एउटा मुद्दा दायर गरेको छ । सिद्धि गणेशले ०६६/०६७ देखि आयकर नतिरेपछि सर्वोच्चमा मुद्दा परेको हो । सिद्धि गणेशका तीन ओटा मुद्दा छन् । यस्तै सोल्टी होटलको पनि ०६६ देखि ०६९ सम्मको आयकर विवाद पनि सर्वोच्चमा पुगेको छ ।

राजेश मेटल क्राफ्टले आयकर नतिरेको भन्दै ठूला करदाता कार्यालयले एक दर्जन मुद्दा दायर गरेको छ । राजेशले ०६३/०६४ देखि ०७०/०७१ सम्मको कर विवादको सुनुवाइ सोमबार हुँदैछ ।

व्यावसायिक प्रतिष्ठानसँगका धेरै कर मुद्दा रहेको कर कार्यालयका अधिकृत धनिराम शर्माले बताए । उनले करका विषयमा विवाद भएपछि सर्वोच्चमा मुद्दा दायर गरिएको जानकारी दिए ।

यस्तै नेपाल कमर्सियल इन्टरप्राइजेज र पद्मा इन्टरप्राइजेजका विरुद्ध पनि कर कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको छ ।