अछाम । मेल्लेख गाउँपालिकामा गाडीसहित स्थानीय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेवी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो ।
करिब दुई लाख ५० हजार रूपैयाँ मूल्यबराबरको मदिरा अवैध रुपमा लग्दै गरिएको थियो । मदिरा नियन्त्रणमा सक्रिय नन्देगडाको श्रृजनशील महिला सञ्जालको सक्रियतामा मेल्लेख प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो ।
यसअघि गाउँमा मदिरा नियन्त्रणमा निकै सक्रिय रुपमा लागेको सो संजालले मदिरा सेवन तथा बिक्री वितरण तथा ओसारपारमा निगरानी गरिरहेको अध्यक्ष निर्मला खड्काले बताइन् ।
मदिराविरुद्ध कडाई गरिरहेको गाउँपालिकाले मेल्लेख प्रवेश गर्ने क्षेत्रमा युवा परिचालन गरेर भए पनि अवैध मदिरा कारोबारलाई निरुत्साहित गरिने र नियमविपरित कार्य गर्ने जो कोहीलाई पनि कडा कारबाही गरिने अध्यक्ष लोकबहादुर बोहराले बताए । तस्बिरः हाेम साउद/रासस