कृषिप्रधान मुलुकमा एक वर्षमा साढे ८ अर्बको पशुपन्छीजन्य उत्पादन र १ अर्ब ६९ करोडको खसीबोका आयात

गत २०७४ पुसदेखि २०७५ पुससम्मको तथ्याङ्कअनुसार पशुपन्छी पशु उत्पादन तथा उत्पादन सामग्रीको आयातमा ८ अर्ब ४३ करोड रुपैयाँ विदेसिएको हो ।

काठमाडौं । पछिल्लो एक वर्षमा झन्डै साढे ८ अर्ब रुपैयाँको पशुपन्छीजन्य उत्पादन तथा सामान आयात भएको छ । गत २०७४ पुसदेखि २०७५ पुससम्मको तथ्याङ्कअनुसार पशुपन्छी पशु उत्पादन तथा उत्पादन सामग्रीको आयातमा ८ अर्ब ४३ करोड रुपैयाँ विदेसिएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, सवैभन्दा बढी खसी तथा बोका आयात भएको छ । उक्त अवधिमा १ अर्ब ६९ करोड रुपैयाँको खसी तथा बोका खरिद भएको देखिन्छ । ८० लाखको गाई, गोरु, बाच्छाबाच्छी, ७३ करोड रुपैयाँको भैँसी, राँगा, पाडापाडी, ६८ लाखको बङ्गुर तथा सुंगुर, ७ करोड ५ लाखको घोडा÷खच्चड, ५२ करोड २६ लाखको प्यारेट स्टक चल्ला लेयर्स, ३२ करोड ५८ लाखको ग्राण्ड प्यारेन्ट चल्ला आयात भएको छ ।

त्यस्तै सोही अवधिमा पशुजन्य पदार्थ जस्तैः माछा, मासु, दूधलगायतका पदार्थमा २ अर्ब ८४ करोड रुपैयाँ बस्तु आयात भएको छ । जसमा ९५ लाखको काँचो दूध, ४४ करोडको धुलो दूध, १ अर्ब ५३ करोडको दुग्धजन्य पदार्थ, ८० करोडको खानेमाछा, चिकेन÷पोर्क÷मटन ३ करोड, राँगाको मासु ५१ लाख रुपैयाँको आयात भएको छ । त्यस्तै, पशु उत्पादनतर्फ ११ करोड ४२ लाखको सिद्रा माछालगायत अन्य गरी २ अर्ब ४६ करोड रुपैयाँका विभिन्न उत्पादन आयात भएका छन् ।

स्वदेशमा पशुपालन र पोल्ट्री फर्म व्यवसाय फस्टाउँदै गएपनि अपेक्षित रुपमा स्वदेशी माग पूर्ति हुन सकेका छैन । खासगरी बढ्दो जनसंख्या र उत्पादनमा कमीका कारण पनि हरेक बर्ष पशुपन्छीजन्य वस्तुको आयात बढेको बढ्यै छ ।

पशुपालन व्यवसाय र पोल्ट्री फर्म विस्तारका लागि सरकारीले प्राथमिकताका साथ योजना अघि बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । बढ्दो जनसंख्या र खुल्ला बजारका कारण पनि आयात बढेको उनले बताए ।