no-image

भरतपुर । भरतपुर महानगरपालिकाको न्यायिक समितिले ७० मुद्दाको छिनोफानो गरेको छ। दोस्रो नगरसभापछि न्यायिक समितिले कार्यान्वयन गर्ने कार्यविधि बनेपश्चात सो अवधिमा ती मुद्दाको छिनोफानो गरेको हो।

न्यायिक समितिमा परेकामध्ये ५० मुद्दा मेलमिलाप समितिबाट समाधान भएको र २० मुद्दा निर्णय भई अदालतमा सिफारिश भएको भरतपुर महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले बताए।

उक्त अवधिमा ९७ मुद्दा दर्ता भएका थिए। अझै २७ मुद्दा छिनोफानो हुन बाँकी रहेको अधिकारीले जानकारी दिए। पन्ध्र मुद्दा मेलमिलाप समितिबाट निरुपण हुन बाँकी छ। महानगरपालिकाको न्यायिक समितिमा परेका मुद्दा सकेसम्म मेलमिलापबाट टुङ्ग्याउने प्रयास गरिएको उनले बताए।

‘हाम्रो प्राथमिकता मेलमिलाप गराउनु नै हो’, उनले भने, ‘यस अवधिमा श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद गरीपाऊँ भन्दै पुरुषका तर्फबाट ४० मुद्दा परेको छ।’ विसं २०७५ भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा सिधैँ अदालतमा दर्ता हुने गरेका छन्।

महानगरको न्यायिक समितिमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दा संहिता लागू हुनुभन्दाअघिको मात्र हो। भरतपुर महानगरपालिकाका २९ वटै वडामा मुद्दा पर्ने र त्यहीँबाटै समाधान हुने गरेको अधिकारीले जानकारी दिए।

वडामा समाधान हुन नसकेका मुद्दा महानगरको न्यायिक समितिमार्फत समाधान गर्ने गरिएको उनको भनाइ छ। तेह्र मुद्दा छिनोफानोको तयारीमा रहेको महानगरपालिकाको न्यायिक समितिले जानकारी दिएको छ। घरभाडा, लेनदेन, जग्गा विवाद, बाटो विवाद, नक्सापासलगायत मुद्दा न्यायिक समितिमा दर्ता हुने गरेका छन्। महानगरपालिकाले प्रत्येक वडामा नयाँ मेलमिलापकर्ताको सूचीकृत गर्ने तयारी गरेको छ। प्रत्येक वडामा कम्तीमा पाँच मेलमिलापकर्ता राख्ने योजना महानगरको छ।