दीर्घकालीन फोहर विसर्जनस्थल डिजाइनको काम सकियो

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिए ।

काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिए । बोलपत्रको समयसीमा ३५ दिनको रहने र त्यस लगतै काम शुरु हुने उनले बताए ।

प्रवक्ता दवाडीका अनुसार अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम गरिरहेको छ ।

निर्माणका लागि मन्त्रालयले ३८ करोड रूपैयाँ बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएएको थियो ।

निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस