मन्त्रालय र आयङ्का फाउन्डेसनका तर्फबाट प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमतिअनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।
काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।
मन्त्रालय र आयङ्का फाउन्डेसनका तर्फबाट प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमतिअनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी छिन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणा बदल्न मन्त्रालय र फाउन्डेसनले यो अभियान सुरु गरेको हो ।
मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्त्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवैलाई शुभकामना दिइन् ।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारीसम्बन्धी जनचेतना जगाउने विषयमा आयङ्का फाउन्डेसनले महत्त्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए । मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाइ छ ।
कलाकार तथा अभिनेत्री प्रियङ्का र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारीसम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ ओटा महिलामैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेसन प्याडसमेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।