लगानी सम्मेलनबारे चिनियाँ उद्योगीलाई ब्रिफिङ

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालका अनुसार सन् २०१७ मा चीन, नेपालको प्रत्यक्ष वैदेशिक लागनीको सबैभन्दा ठूलो स्रोत, दोस्रो ठूलो व्यापार साझेदार र पर्यटनको देस्रो ठूलो स्रोत रहेको छ ।

एजेन्सी । आगामी मार्च अन्त्यतिर नेपालले लगानी सम्मेलन आयोजना गर्दै छ । यो सम्मेलनअघि बेइजिङस्थित नेपाली राजदूतावासले सोमबार एउटा सम्मेलन आयोजना गरेको छ । सो सम्मेलनमा दूतावासले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी अवसरबारे ब्रिफिङ गरेको थियो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालका अनुसार सन् २०१७ मा चीन, नेपालको प्रत्यक्ष वैदेशिक लागनीको सबैभन्दा ठूलो स्रोत, दोस्रो ठूलो व्यापार साझेदार र पर्यटनको देस्रो ठूलो स्रोत रहेको छ । राजदूत पौड्यालले नेपालको चोखो प्राकृतिक, सांस्कृतिक र मानव संसाधनबारे बताउँदै चिनियाँ व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

सम्मेलनमा नेपाल लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले नेपालमा लगानीको आवश्यकता र अवसरबारे धेरै विवरण उपलब्ध गराएका थिए । अधिकारीले नेपालमा लगानीका लागि १० क्षेत्रलाई प्राथमिकतासाथ प्रस्तुत गरेका थिए । कृषि, बैङ्किङ तथा वित्तीय क्षेत्र, स्वास्थ्य, ऊर्जा, शिक्षा, सूचना र सञ्चार प्रविधि, निर्माण, खानी तथा मिनिरल्स, पर्यटन तथा यातायात जस्ता क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारीलाई आह्वान गरिएको थियो ।

अधिकारीले नेपाललाई आगामी २०३० सम्म मध्य आर्थिक क्षमता भएको मुलुकका रुपमा स्थापित गर्न कुल ग्रार्हस्थ्य उत्पादनको करिब चार प्रतिशतदेखि बढाएर १२ प्रतिशत लगानी पूर्वाधारमा लगाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

अधिकारीले आगामी दशकमा नेपाल सरकारको विकास लक्ष्यलाई पनि उल्लेख गरेका थिए । उनले दुई हजार किलोमिटरको रेलमार्ग, दुई हजार किलोमिटरको कालोपत्रे सडक, पाँच ओटा अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेगावाटको बिजुली र ५० लाख पर्यटकको लक्ष्य उल्लेख गरेका थिए ।

सन् २०१७ देखि २०१८ को बीचमा चीनबाट नेपालमा गरिएको लगानी ४९ करोड ३० लाख अमेरिकी डलर पुगेको छ भने त्यसको तुलनामा भारतको दोस्रो ठूलो प्रत्यक्ष वैदेशिक लगानी स्रोतको रुपमा ६ करोड ३० लाख अमेरिकी डलरको लगानी छ । मार्च २९ देखि ३० सम्म हुने लगानी सम्मेलनले चार सय विदेशी लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य लिएको छ ।