ग्यास उद्योगी र आयल निगमबीच वार्ता सुरु

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उद्योगीका जायज मागरु पूरा गर्न तयार रहेको बताइरहेको बेला बुधबार वार्ता सुरु भएको हो । निगमको केन्द्रीय कार्यालयमा वार्ता सुरु भएको छ । 

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको एलपी ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमबीच वार्ता सुरु भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उद्योगीका जायज मागरु पूरा गर्न तयार रहेको बताइरहेको बेला बुधबार वार्ता सुरु भएको हो । निगमको केन्द्रीय कार्यालयमा वार्ता सुरु भएको छ ।

उद्योगीहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै फागुन ३० देखि खाना पकाउने ग्यास बिक्री नगर्ने चेतावनी दिँदै आएका छन् । एलपी ग्यास उद्योग सङ्घले फागुन १६ गतेसम्म मागको सम्बोधन नभए १७ गतेबाट आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सङ्घको निर्णयअनुसार १७ गतेदेखि एलपी ग्यासको पीडीओ खरिद नगर्ने, २२ गतेदेखि एलपी ग्यास आयात गर्ने सबै रिफाइनरीहरुबाट एलपी ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ देखि एलपी ग्यास लोड भएका बुलेटहरु सम्पूर्ण भन्सार नाकाबाट नछुटाउने र २८ गतेदेखि देशभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्नेछ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ४५ दिनभित्र ग्यास उद्योगीको समस्या के हो, पत्ता लगाउनका लागि बनाएको कमिटीले पाँच महिना बितिसक्दा पनि केही नगरेपछि उद्योगीहरु आन्दोलन गर्न बाध्य भएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

यसैबीच ग्यास विक्रेता सङ्घका उपाध्यक्ष चन्द्र थापाले आन्दोलनको नाममा केही व्यवसायीहरुले चर्को मूल्यमा ग्यास बिक्री गरेको गुनासो उपभोक्ताबाट बढेको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरेका छन् । उनले उद्योगी र बिक्रेताको आन्दोलनको मौका छोपी कुनै पनि व्यवसायीले उपभोक्तालाई ठग्न खोज्नेहरुलाई कडाभन्दा कडा कारबाहीका लागि सरकारसँग मागसमेत गरेका छन् ।