अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उनलाई असजिलो भएको हो ।
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैची खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाट उनको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उनलाई असजिलो भएको हो । गाउँमा किसानले ढुङ्गा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापुङले पनि घर नजिकै त्यही परम्परागत भट्टी बनाएका छन् ।
त्यस्ता परम्परागत भट्टीमा अलैँची सुकाउँदा अलैँची पनि राम्रो सुक्दैन र किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । प्राविधिक ज्ञान नभएकैकारण आधुनिक भट्टीको प्रयोग पनि शून्य जस्तै छ । यहाँका किसानलाई जिल्लास्थित उद्योग वाणिज्य सङ्घले केही वर्षअघि एक सयओटा आधुनिक भट्टी अनुदानमा वितरण गरे पनि अहिलेसम्म किसानले ती भट्टी प्रयोगमा नल्याएको अलैँची व्यवसायी सङ्घका जिल्ला महासचिव तुलसी ढकालले बताए ।
‘किसानलाई आधुनिक भट्टीको प्रयोगबारे ज्ञान छैन, अनुदानमा पाएका भट्टी पनि प्रयोगमा छैनन्’, ढकालले भने । अनुदानमा पाएको भट्टी जडान गर्न पहिलो वर्ष प्राविधिक सहयोग पाए पनि दोस्रो वर्षबाट जडान गर्नै समस्या भएको फेदाप गाउँपालिका–५, इसिबुका किसान वृखबहादुर तामाङले बताए । ‘भट्टी त पाइयो, तर प्राविधिक ज्ञान पाइएन, त्यसैले प्रयोगमा आएन । आधुनिक भट्टीले अलैँचीको गुणस्तरमा सुधार हुने भए पनि त्यसको प्रयोगबारे किसानलाई थाहा नै छैन’ उनले भने, ‘‘परम्परागत भट्टीमा छिटो सुक्छ, तर आधुनिक भट्टीमा सुकाउँदा धेरै समय लाग्ने रहेछ ।’ कतिपय किसानलाई परम्परागत भट्टीको प्रयोग गर्नु अलैँची गुणस्तरको हिसाबले गलत हो भन्ने नै थाहा छैन ।
परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धूवाँ र आगोले मानव स्वास्थ्यमा असर गर्ने जस्ता समस्या किसानले बेहोर्दै आएका छन् । यसवर्ष भट्टीमा सुकाउन थालेको अलैँची आगो दन्किएर सबै जलेर खरानी भएको लालीगुराँस नगरापालिका–८, सोल्माका किसान चन्द्र लिम्बुले बताए । ‘अलैँची सुकाउन भट्टीमा हालेको थिएँ, खै के मिलेन, कुन्नि ? सबै जलेर खरानी भयो,’ उनले भने । काँचो दाउरामा अलँैची सुकाउनु पर्दा आँखा पाक्ने, दम, खोकी जस्ता धुवाँका समस्या भएको उनले बताए । आगोको झिल्काले उडेर गएर घरमै आगलागी भएका घटना पनि छन् । भट्टी लगाउँदा किसान अत्यन्तै सचेत हुनुपर्छ । नसुकिञ्जेल रातदिन नभनी अलैँची भट्टी रुँघेर बस्नुपर्छ ।
परम्परागत भट्टीको सबैभन्दा जोखिमको पक्ष भनेकै आगोबाट अलैँची जोगाउनु र धूवाँबाट बच्नु भएको मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका किसान विनय लिम्बुले बताए । ‘अलैँची बेच्न लिएर त गइयो, तर व्यापारीले फिर्ता पठाइदिए, फेरि सुकाएर लगेपछि मात्रै बिक्री भयो,’ उनले भने । अलैँचीको गुणस्तर वृद्धि गर्न पहल सुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको उनले बताए ।
अलैँचीको याममा बगानबाट टिपेर ल्याएपछि अलैँची छोडाउनुपर्छ । छोडाएपछि किसानले भट्टीमा सुकाएपछि मात्रै अलैँची बेच्नका लागि तयार हुन्छ । किसानले परम्परागत भट्टीमा सुकाउनुपर्दा १० केजी अलैँची सुक्न करिब १७ घण्टासम्म लाग्ने गरेको छ । काँचो दाउरामा अलैँची सुकाउनुपर्दा समस्या हुने आठराई गाउँपालिका–४, इवाका किसान नरेन्द्र इङनामले बताए ।
‘अलैँची राम्रोसँग सुक्दैन, काँचो दाउराले अलैँची सुकाउँदा आफूलाई उत्तिकै गाह्रो हुन्छ,’ उनले भने, ‘पाए त आधुनिक भट्टीमा अलैँची सुकाउन सजिलो हुन्थ्यो नि ।’ परम्परागत भट्टी आफैँले बनाउन सकिने भए पनि आधुनिक भट्टीभन्दा कम खर्चिलो र एक पटक बनाएपछि वर्षौंसम्म प्रयोग गर्न सकिनेहुन्छ । आधुनिक भट्टी पनि पटक÷पटक प्रयोग गर्न सकिन्छ । तर प्रयोग गरेपछि त्यसलाई फुकालेर राख्नुपर्छ । पुनःजडान गर्न प्राविधिक कारणले समस्या भएको किसानको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयले वर्षौदेखि अलैँचीखेती प्रविधि र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्दै आए पनि गुणस्तरीय उत्पादन तथा आधुनिक भट्टीको प्रयोगतर्फ किसानको ध्यान तान्न सकेको छैन । अब स्थानीय सरकारको पहलमा अलैँची खेतीको विकास तथा गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष अमृत सुवेदीको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिक टन अर्थात् ४६ करोड २० लाख रुपैयाँको अलैँंची उत्पादन भएको थियो ।
यसवर्ष पनि मौसम अनुकूल रहेकाले अलैँची उत्पादन बढ्ने आँकलन कृषि प्राविधिक लगाउँछन् । यो वर्ष अलैँचीको मूल्य बढ्ने आशाले किसानले अहिले पनि थन्काएर राखेका छन् ।