तरकारी र अनाज बिक्री गरी वार्षिक रु दुई लाख ५० हजारको आम्दानी गर्ने बताउने उनी मेहनती युवालाई पैसा कमाउन विदेश जानुनपर्ने बताउँछन्। “मेहनत नै गर्न परे विदेश किन जानुपर्यो ? स्वेदशमै सानो लगानीबाट पनि राम्रो काम गर्न सकिन्छ,” तामाङकी श्रीमती लोकमायाले भनिन्।
नारायणपुर, दाङ । मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए। विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए ।
‘समाज बदल्ने कुरा निकै कठिन कुरा रहेछ’, तामाङले भने, ‘तर आफूलाई परिवर्तन गर्न केही हदसम्म सहज छ।’ कुनै बेला बन्दुक बोकेर युद्धमा होमिएका जनमुक्ति सेनाको उद्यम अहिले लोभलाग्दो छ । दाङ राप्ती गाउँपालिका–२ नयाँबस्तीका तामाङको उद्यमले युवालाई स्वदेशमै काम गर्ने राम्रो उत्पेरणा पनि दिन्छ । उनले कुखुरापालन, बाख्रापालन लगायतका क्षेत्रबाट राम्रो आम्दानी गरेका छन्।
शान्ति प्रक्रिया शुरु भएसँगै जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश रोजेका तामाङले २०७० सालदेखि ब्रोइलर कुखुराको व्यावसायिक पालन गर्न शुरु गरे। हाल एक हजार ५०० को सङ्ख्यामा कुखुरा पालेका उनले २०० को सङ्ख्याबाट कुखुरापालन गरेको बताए। ‘देश एउटा नयाँ मोडमा प्रवेश गर्यो, कति साथीहरु सन्तुष्ट छन्, कति छैनन्,’ तामाङले भने, ‘तर एक किसिमको परिवर्तन आइसकेपछि नागरिकले पनि आफ्नो स्तरबाट परिवर्तनको शुरुआत गर्नुपर्छ भन्ने लागेर व्यवसाय शुरु गरेको हूँ।’
स्वेच्छिक अवकाश रोजेपछि नेपाल सरकारबाट रु पाँच लाख पाएका उनले सो पैसाबाट घर बनाए। घर बनाएसँगै उनले स्थानीय लघुवित्त संस्थाबाट ऋण लिएर कुखुरापालन शुरु गरे। ‘अहिले धेरै साथीहरु विदेशमा छन्, तर देशमै काम गर्नुपर्छ भन्ने मेरो रहर हो,’ तामाङले भने।
उनलाई श्रीमती लोकमाया चौधरीले सघाउँछिन्। ‘श्रीमतीले सघाएकी छन्, मैले पनि उत्तिकै मिहिनेत गरेको छु, म काम र कमाइबाट पूर्ण सन्तुष्ट छु,’ तामाङले भने। कुखुरा बिक्रीबाट मात्रै मासिक रु ३० देखि ४० हजार आम्दानी गर्ने उनले बाख्रा बिक्रीबाट पनि वार्षिक रु दुई लाख आम्दानी गर्दै आएका छन्। तामाङले अहिले २० बाख्रा पालेका छन्। योसँगै उनले नजिकै १० कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आएका छन्।
तरकारी र अनाज बिक्री गरी वार्षिक रु दुई लाख ५० हजारको आम्दानी गर्ने बताउने उनी मेहनती युवालाई पैसा कमाउन विदेश जानुनपर्ने बताउँछन्। “मेहनत नै गर्न परे विदेश किन जानुपर्यो ? स्वेदशमै सानो लगानीबाट पनि राम्रो काम गर्न सकिन्छ,” तामाङकी श्रीमती लोकमायाले भनिन्।
पछिल्लो समय राजनीतिप्रतिको सक्रियता त्यागेका तामाङ व्यवसायमै व्यस्त भएको बताउँछन्। “राजनीतिक परिवर्तनमा पनि हाम्रो परिवारको राम्रो भूमिका रह्यो, अब आर्थिकरूपमा पनि सम्पन्न हुने अवसर खोज्दैछौँ” लोकमायाले भनिन्। पैसाकै लागि विदेशिने युवालाई स्वदेशमै इलम गर्दा राम्रो हुने सल्लाह उनको छ ।