लागत घटाउन र उत्पादकत्व बढाउन सरकारको अनुदान : अर्थमन्त्री खतिवडा

लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले अनुदान दिने गरेपनि वास्तविक किसानले अनुदान पाउन नसकेको अर्थमन्त्री खतिवडाले बताए । कृषि उत्पादनमा किन लागत बढी भयो भन्ने कुरामा खोजबिन गर्न आवश्यक छ उनले भने । दाना महँगो पर्ने भएकाले घाँसमा आधारित गाईवस्तु पाल्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमार्फत सामूहिक रुपमा व्यावसायिक खेती गरेमा कृषिमा छिट्टै आत्मनिर्भर हुन सकिने बताएका छन् । कृषि उत्पादनमा आत्मननिर्भर हुनुका साथै निर्यातसमेत गर्न सकिने उनले दाबी गरे ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ लि. को आयोजनामा भएको साना किसान सम्मेलनका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले उन्नत बिउजिबज, प्रविधि र यान्त्रीकरणका लागि सहकारी खेती अत्यावश्यक भएको बताएका छन् । सहकारीमार्फत व्यावसायिक ढंगले उत्पादन गर्न सके केही वर्षभित्रै कृषिमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । सधैं साना किसान भएर मात्र नहुने भन्दै अर्थमन्त्री खतिवडाले कृषिका ठूला आयोजना सञ्चालन गर्न सक्नुपर्ने बताए ।

लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले अनुदान दिने गरेपनि वास्तविक किसानले अनुदान पाउन नसकेको अर्थमन्त्री खतिवडाले बताए । कृषि उत्पादनमा किन लागत बढी भयो भन्ने कुरामा खोजबिन गर्न आवश्यक छ उनले भने । दाना महँगो पर्ने भएकाले घाँसमा आधारित गाईवस्तु पाल्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री खतिवडाले स्थानीय तहले सडक मात्र ध्यानमा राख्नुभन्दा सन्तुलित ढंगले विकास गर्नुपर्नेमा जोड दिए । सरोकारवाला निकायले संघीय संरचनाको सदुपयोग गर्दै अधिकतम लाभ लिन सक्नुपर्ने उनले बताए ।

कृषिका जोखिम न्यूनीकरण गर्न किसानलाई राज्यले संरक्षण गर्दै आएको उनको भनाइ छ । गरिबी निवारण गर्न र कृषिमा आत्मनिर्भर हुन सहकारीको भूमिका महत्वपूर्ण हुने खतिवडाले बताए । कृषि, उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारीले मुख्य भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ छ ।

सहकारीमार्फत लघु बिमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढाउनुपर्ने खतिवडाले जोड दिए । पछिल्लो समयमा सरकारले बिमालगायत मार्फत कृषिको जोखिम व्यवस्थापन गर्दै गएको दाबी गरे । कृषिको दीर्घकालीन रणनीति बनाएर कृषिको उत्पादनमा प्राथमिकताका साथ जान सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

प्रदेश नं. ३ का सांसद पशुपति चौलागाईंले कृषिबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । कृषिमा आश्रित प्रतिशत र संख्या घटाएर कृषि उत्पादकत्व बढाउने योजना बन्न आवश्यक भएको उनको भनाइ थियो । कृषिको रुपान्रणका लागि प्रदेश सरकारले कुन विधिबाट जान सकिन्छ भनेर योजना बनाइरहेको उनले बताए ।

२० वर्षे कृषि रणनीतिका कारण कृषिमा धराशायी भएको उनको भनाइ थियो । अहिलेको विधिबाट परिवर्तन सम्भव छैन ः उनले भने, नयाँ तरिकाबाट कृषिको आधुनिकीकरण गर्नुपर्छ । कृषिमा ऋण पाउन र बिमामा समेत समस्या भएका कारण कृषि फस्टाउन नसकेको उनले बताए । उत्पादन, बजारीकरण र प्रशोधनमा सहकारीले रचनात्मक काम गर्न सक्ने उनले बताए । तर सरकारले उत्पादनमा जान स्पष्ट बाटो देखाउनुपर्ने उनले बताए ।

साना किसान विकास लघुविक्त वित्तिय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले बजार व्यवस्थापन हुन नसकेका कारण कृषक मारमा परेको गुनासो गरे ।