शिवरात्री सुरक्षामा ४ हजार प्रहरी परिचालन,  गाँजा बिक्री वितरण र सेवन गर्नेलाई कडा कारबाही : प्रहरी

शिवरात्री पर्वलाई लक्ष्य गरी ४ हजार प्रहरी परिचालन हुने र सूचना सङ्कलनका लागि पर्याप्त सादा पोसाकका प्रहरी परिचालन गरिने महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयले शिवरात्रीमा सुरक्षाका लागि पुशपतिक्षेत्रमा ४ हजारभन्दा बढी प्रहरी परिचालनको तयारी गरेको छ ।

शिवरात्री पर्वलाई लक्ष्य गरी ४ हजार प्रहरी परिचालन हुने र सूचना सङ्कलनका लागि पर्याप्त सादा पोसाकका प्रहरी परिचालन गरिने महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्रीले बताए । उनका अनुसार प्रहरीबाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारी खटिने छन् ।

पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन र सो क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न तीन ओटै सुरक्षा निकायका छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।

शिवरात्री पर्वको बाहानामा पशुपतिक्षेत्रमा हुने अवैध गाँजाको व्यापारलाई प्रहरीले प्रतिबन्ध लगाएको छ । पशुपतिमा आउने बाबाजीहरुलाई समेत गाँजा बेच्न नदिन प्रहरीले आजैबाट सुरक्षाकर्मीलाई सादा पोसाकमा खटाएको छ ।

‘शिवरात्रि पर्वको बहानामा गाँजा व्यापार गर्न आउनेहरु पनि विगतमा देखिए,’ महानगरीय प्रहरी आयुक्त डीआईजी थापा क्षेत्रीले भने, ‘शिवरात्रीको बाहानामा गाँजाको व्यापार मात्र हैन, सेवन गरेको भेटिए पनि कारबाही हुन्छ, हामीले त्यही अनुसारको व्यवस्था गरेका छौं ।’

पशुपतिमा दर्शन गर्न आउनेहरुले कुनै पनि आपत् विपत् बेहोर्नु नपरोस् भन्दै राज्यका सबै सुरक्षा निकाएसँग समन्वय गरिएको पनि उनले बताए । उनका अनुसार दर्शन गर्न आउनेहरुलाई लक्ष्य गर्दै विभिन्न स्थानमा स्वास्थ्य शिविर पनि राखिएको छ ।