जोगवनीदेखि चीनसम्म तमोर करिडोर

पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिमबजारदेखि धनकुटाको मूलघाटसम्म सवारी साधन सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् ।

जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएको छ । यस करिडोरमा यातायात सञ्चालन हुन थालेकाले स्थानीयवासी खुसी भएका छन् ।

तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीय कृषि उपजसमेत बजारसम्म पु¥याउन सहज भएकाले यहाँका बासिन्दा खुसी भएका स्थानीयवासी नरेन्द्र याख्खाले बताए । पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिमबजारदेखि धनकुटाको मूलघाटसम्म सवारी साधन सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् । धनकुटाको मूलघाटदेखि पाँचथरको सावाखोलासम्म ५२ किमी मार्ग खोल्ने काम पूरा भएसँगै पाँचथरको सदरमुकाम फिदिमदेखि तमोर करिडोर हुँदै तराईका विभिन्न जिल्लातर्फ दैनिक दर्जनभन्दा बढी साना सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।

तमोर करिडोरमा यातायात सञ्चालन भएसँगै साना होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । यात्रुलाई सेवा दिने उद्देश्यले तमोर करिडोर विभिन्न क्षेत्रमा तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । करिडोरमा नियमित रुपमा गाडी चल्न थालेपछि व्यापार व्यवसाय बढेको हंशमोरङका होटल व्यवसायी रेणुदेवी दाहालले बताइन् । यातायातका साधन सञ्चालनमा आएसँगै अहिले दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादनबजार लैजान पनि निकै सहज भएको स्थानीयवासी बताउँछन् । धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार तमोर करिडोर अब बराहक्षेत्र हुँदै सुनसरीको चतरा जोड्ने ठेक्का सम्झौता एक महिनाभित्र हुने र पाँचथरको सुवाङ खोलादेखि चतराको दूरी १४० किमी हुने नेपाली बताउँछन् । नेपालीका अनुसार करिब रु ६५ करोड खर्चमा मूलघाट ताप्लेजुङ सडकखण्डमा काम भइरहेको छ । मेची पहाडको ताप्लेजुङबाट तराई पुग्न ८ देखि १० घण्टा र पाँचथरदेखि इलाम हुँदै तराईसम्म छ घण्टा लाग्ने अवस्था रहेकामा हाल तमोर करिडोर हुँदै तराई पुग्न ताप्लेजुङबाट चारदेखि पाँच घण्टामा पुग्न सकिने यातायात व्यवसायीको भनाइ छ । मेची राजमार्ग हुँदै तराई जानुभन्दा ५० प्रतिशत कम समय तमोर करिडोरमा लाग्ने भएकाले उपयुक्त र सहज पहुँचमार्ग बन्ने स्थानीयवासीको भनाइ छ ।

धनकुटाको मूलघाटदेखि तमोर करिडोर १८० किमी र मोरङको रानीभन्सारदेखि ताप्लेजुङ ओलाङ्चुङ्गोला हुँदै चीन जोड्न कुल २७० किमीसम्म उत्तर–दक्षिण सडक हुने आयोजनाका प्रमुख नेपालीले बताए । यता तमोर करिडोरकै मूलघाट–चतरा ३३ किमी सडक मार्ग खोल्न बजेटसमेत विनियोजन भइसकेकाले चीन र भारत जोड्ने थप छोटो पहुँचमार्ग बन्नेसमेत निश्चित छ ।