झुटा विवरण पेस गरी राजस्व छल्ने २४ फर्मविरुद्ध मुद्दा दायर, एक अर्ब ७५ करोड बिगो दाबी

झुटा तथा नक्कली कर बीजक जारी गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क), (ख) र (घ) बमोजिमको कसुर गरेको देखिएको हो ।

काठमाडौं । झुटा विवरण पेस गरी मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ बिगो माग दाबीसहित २४ फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

झुटा तथा नक्कली कर बीजक जारी गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क), (ख) र (घ) बमोजिमको कसुर गरेको देखिएको हो ।

ऐनको दफा २६ बमोजिम ब्याज ६५ करोड ४४ लाख २८ हजार २ सय ३७ रुपैयाँ तथा आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २९१० बमोजिम करयोग्य आयमा २५ प्रतिशतका दरले दाखिला गर्नुपर्ने आयकर, सोही ऐनको दफा १२ (ख) बमोजिम शुल्क, दफा ११८ र ११९ बमोजिम ब्याजसमेतले हुने जम्मा १ अर्ब ९ करोड ९९ लाख ८१ हजार ९ सय ९३ रुपैयाँ कर बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ९२० (छ) १० बमोजिम १ अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ बिगो कायम गरी निज प्रतिवादीलाई बिगो बापतको रकम असुल गरी सोही ऐनको दफा २३ (१०) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागदाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

विभागले मङ्गलबार नक्कली बीजक बिक्री गरी राजस्व छली गर्ने जयकिशोर साह, परमेश्वर साहलगायत २४ फर्मविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले कम्पनीमा काम गर्ने कामदार तथा आय नभएका विभिन्न व्यक्तिका नाममा कम्पनी खोलेर राजस्व छली गर्ने गरेको भन्दै अनुसन्धानपछि विभागले मुद्दा दायर गरेको हो ।

विभागले डिजे प्रोलिङ्क ट्रेड प्रालि, रेशम ट्रेड एन्ड सप्लायर्स, सुप्रिम बिजनेस ट्रेड लिङ्क प्रालि, कामना ट्रेड एन्ड सप्लायर्स प्रालिलगायत २४ व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको हो ।

Press Release 2075_11_21