५ थान हतियारसहित कास्कीबाट ४ जना पक्राउ

कास्कीको रुपा गाउँपालिका ७ तालवेशी तथा सौर्यवासका विभिन्न स्थानबाट मङ्गलबार प्रहरीले लेन्ससहितको बाइसबोर राइफल १ थान, बाह्रबोर राइफल १ थान र भरुवा बन्दुक ३ थानसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

काठमाडौं । प्रहरीले कास्कीबाट ५ थान हतियारसहित चार जनालाई पक्राउ गरेको छ ।

कास्कीको रुपा गाउँपालिका ७ तालवेशी तथा सौर्यवासका विभिन्न स्थानबाट मङ्गलबार प्रहरीले लेन्ससहितको बाइसबोर राइफल १ थान, बाह्रबोर राइफल १ थान र भरुवा बन्दुक ३ थानसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका ३० शिशुवाका ५५ वर्षीय नारायणबहादुर गुरुङ, सोही ठाउँस्थित तालबेशीका ४८ वर्षीय डिलबहादुर गुरुङ, सोही ठाउँका ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगर छन् ।

विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नारायणको घरबाट बाइसबोर राइफल, डिलबहादुरको घरबाट बाह्रबोर राइफल, सुरेशको घरबाट भरुवा बन्दुक २ थान र मनबहादुरको घरबाट भरुवा बन्दुक १ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका चारै जनालाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।