अर्थमन्त्रीको सुझाव : बैङ्ककर र व्यवसायी मिलेर ब्याजदरमा निर्णय लिनुस्, नत्र सरकारले हस्तक्षेप गर्छ

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको बुधबार औपचारिक कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैङ्कर र व्यवसायीहरुले ब्याजदरका विषयमा सहमति गरेर निर्णय गर्नुपर्ने र सहमति नभए सरकारले हस्तक्षेप गर्ने बताएका हुन् ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कर र व्यवसायीहरुलाई ब्याजदरका विषयमा सहमती गर्न आग्रह गरेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको बुधबार औपचारिक कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैङ्कर र व्यवसायीहरुले ब्याजदरका विषयमा सहमति गरेर निर्णय गर्नुपर्ने र सहमति नभए सरकारले हस्तक्षेप गर्ने बताएका हुन् ।

‘बैङ्कर पनि तपाईंहरु नै हुनुहुन्छ, ऋण लिने पनि तपाईंहरु नै हुनुहुन्छ, त्यसैले यस विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घमा छलफल गरेर तपाईंहरुले नै निर्णय लिनुुस्,’ उनले भने, ‘ब्याजदरको विषयमा तपाईंहरुले नै निर्णय गर्दा राम्रो हुन्छ, हामीले हस्तक्षेप गर्न चाहँदैनौं, यदि तपाईंहरु मिल्न सक्नुभएन भने हामी हस्तक्षेप गर्छाैं ।’

अर्थमन्त्री खतिवडाले ६ प्रतिशत र १६ प्रतिशतको अतिवादमा जान नहुनेसमेत बताए । ‘६ र १६ को औसतदर खोजेर सहमति गर्नुपर्छ, तपाईंहरुबीच ब्याजदरमा भएको प्रतिस्पर्धा अन्त्य गर्नुस्,’ उनले भने ।

संस्थागत लगानीकर्तालाई पनि अर्थमन्त्री खतिवडाले मौसमी ब्याजदर लिने काम नगर्न आग्रह गरे । ‘संस्थागत लगानीकर्ताले पनि मौसमी ब्याजदर लिने काम बन्द गर्नुपर्छ,’ उनले भने ।

खतिवडाले वाणिज्य बैङ्कको सङ्ख्या अझ घट्नुपर्ने बताए । ‘बैङ्कहरु मिलेर मर्जरमा जानुस् नत्र फोर्स मर्जमा लैजान सरकारले कदम चाल्छ,’ उनले भने ।