काठमाडौंको ज्ञानेश्वरमा रहेको आँगनबाट एक वर्षअघि निकालिएका आफ्ना तीनजना मजदुरलाई काममा पुनर्बहालीको माग गर्दा आँगन व्यवस्थापनले बेवास्ता गरेका कारण धम्कीस्वरुप बम राखेको स्रोतले क्यापिटल नेपाललाई जानकारी दिएको छ ।
काठमाडौं । कामबाट निकालिएका कर्मचारीको पुनर्बहालीको माग गर्दै नेत्रविक्रम चन्द (बिप्लव)को पार्टी नेकपा माओवादीले आँगन स्वीटमा बम राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडौंको ज्ञानेश्वरमा रहेको आँगनबाट एक वर्षअघि निकालिएका आफ्ना तीनजना मजदुरलाई काममा पुनर्बहालीको माग गर्दा आँगन व्यवस्थापनले बेवास्ता गरेका कारण धम्कीस्वरुप बम राखेको स्रोतले क्यापिटल नेपाललाई जानकारी दिएको छ ।
आँगनले कर्मचारीको पुनर्बहाली नगरेपछि गत फागुन १० गते बिप्लव नेतृत्वको माओवादीले धम्कीस्वरुप बम राखेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार आँगनले बैतडीका वीरबहादुर साउद, बासुदेव सिंह र इश्वर दमाईंलाई व्यवस्थापन पक्षले एक वर्षअघि कामबाट निकालेको थियो । आँगनबाट निकालिएपछि तीनैजना नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको पार्टीमा प्रवेश गरेका थिए ।
त्यसपछि उनीहरुले आँगन सञ्चालक राजेन्द्र सैनीलाई निरन्तर आफूहरुलाई काममा फर्काउन दबाव दिए । केही नलागेपछि सो पार्टीको भात्रृ सङ्गठन किसान महासङ्घका अध्यक्षसमेत रहेका लमजुङका राजु कार्कीले सञ्चालक सैनीलाई दबाव दिन थाले ।
उनको दबावलाई सञ्चालक सैनीले बेवास्ता गरेपछि आँगनको छेउमा बम राखेर धम्क्याइएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार किसान महासङ्घका अध्यक्ष कार्कीले बम राख्नु एक साताअघि मात्र आँगन सञ्चालकलाई भेटेरै निकालिएका आफ्ना मजदुर काममा राख्न दबाव दिएका थिए ।
स्रोतले क्यापिटल नेपालसँग भन्यो, नख्खु बम विस्फोट हुँदा कार्की बागबजार क्षेत्रमा थिए, त्यही दिन सो पार्टीले आँगनमा बम राखेको थियो ।
‘चन्दा बिषयमा एनसेल कार्यालयमा बम विस्फोट गराइएको भए पनि आँगनमा भने त्यो देखिएन, निकालिएका कर्मचारी राख्न बारम्बार दबाव दिए पनि नटेरेका कारण बम राखेर तर्साउने काम भयो,’ स्रोतले भन्यो ।
बम राख्ने अध्यक्ष र धम्की दिने मजदुर खोज्दै प्रहरी
आँगनमा बम राख्नु एक साताअघि सञ्चालकलाई भेटेरै धम्की दिने किसान महासङ्घका अध्यक्ष राजु कार्की र कामबाट निकालिएका तीनजना मजदुरको खोजीमा प्रहरी जुटेको छ ।
‘हामीले एनसेल मुख्यालयमा भएको बम विस्फोटकै घटनासँग जोडेर हेरेका छौं,’ महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेस थापा क्षेत्रीले भने, ‘अनुसन्धान हुँदैछ, त्यसको सत्यतथ्य बाहिर आउँछ ।’
‘घटनामा संलग्न भएका केही तथ्य फेला परेपछि मङ्गलबार राजु कार्कीलाई पक्राउ गरेका छौं, अनुसन्धान हुँदैछ,’ उनले भने ।