एसपीसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर, ६ प्रहरी थुनामा, एसपी र डीएसपी फरार

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा प्रहरीविरुद्ध बुधबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा जोडिएका तत्कालीन कन्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत कन्चनपुरमा मुद्दा दायर भएको छ ।

घटनामा शंकास्पद भन्दै पक्राउ परेका व्यक्तिलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा एसपी विष्टसहितका प्रहरीलाई मुद्दा दायर गरिएको हो ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा प्रहरीविरुद्ध बुधबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

निलम्बित एसपी विष्ट र डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दायर भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

उनीहरुमध्ये एसपी विष्ट र डीएसपी जीसीलाई फरार सूचीमा राखेर मुद्दा दर्ता गरिएको छ भने डीएसपी सेठीसहित छ जनालाई पक्राउ बुधबार नै अदालतमा पेस गरिएको छ । थुनामा रहेका उनीहरुको आजबाट थुनछेक बहस हुनेछ ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो । हत्यापछि निर्मलाको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।