जमानत जफत गर्न तनहुँ हाइड्रोले काट्यो पत्र, नेपाल इन्भेष्टमेन्ट बैङ्कले हप्ता दिनभित्र २ अर्ब दिने

सीएमसीले आयोजनाको पहिलो लटको काम सुरु नगरेपछि प्रवर्द्धक तनहुँले उसँगको ठेक्का तोडेर जमानत जफतका लागि पत्राचार गरेपछि बैङ्कले एक हप्ताभित्र भुक्तानी गर्ने जानकारी गराएको छ । सीएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने बैङ्कले एक साताभित्र जमानत रकम भुक्तानी गर्ने जानकारी दिएको तनहुँका वरिष्ठ सूचना अधिकृत सचेन गौतमले जानकारी दिए ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी) ले राखेको जमानत रकम एक साताभित्र भुक्तानी गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्टले झन्डै १ अर्ब ९७ करोड रुपैयाँ सीएमसीको जमानत तनहुँ हाइड्रोपावर लिमिटेडलाई भुक्तानी दिने भएको हो ।

सीएमसीले आयोजनाको पहिलो लटको काम सुरु नगरेपछि प्रवर्द्धक तनहुँले उसँगको ठेक्का तोडेर जमानत जफतका लागि पत्राचार गरेपछि बैङ्कले एक हप्ताभित्र भुक्तानी गर्ने जानकारी गराएको छ । सीएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने बैङ्कले एक साताभित्र जमानत रकम भुक्तानी गर्ने जानकारी दिएको तनहुँका वरिष्ठ सूचना अधिकृत सचेन गौतमले जानकारी दिए ।

तनहुँले ठेक्का रद्द भएको सूचना जारी गरी ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफतका लागि दाबी गरेको हो । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बा“ध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो ।

फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएकामा सीएमसीबाट आधिकारिक जवाफ नआएपछि तनहँु हाइड्रोपावरले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सीएमएसीलाई गराएको छ ।

सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सीएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैङ्क ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत छन् ।

तनहुँ हाइड्रोपावर र सीएमसीबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको थियो । सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाका लागि तयारी सुरु गरिएको छ । अहिले नयाँ टेन्डर आह्वान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ताभित्र नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) छ ।