ऋण तिर्न नसकेर अपहरणको नाटक, परिवारबाट फिरौती माग

१० लाख रकम ऋण तिर्नका लागि उनले आफैंले अपहरणको नाटक रची परिवारबाट १५ लाख फिरौती मागेको प्रहरी अनुसन्धानबाट खुलेको कैलाली प्रहरी प्रमुख आभूषण तिमल्सेनाले बताए ।

काठमाडौं । गत बुधबार धनगढीबाट अपहरणमा परेका भनिएका व्यापारी जगतबहादुर सिंहले ऋण तिर्न नसकेर परिवारबाट रकम असुल्न अपरहणमा परेको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

१० लाख रकम ऋण तिर्नका लागि उनले आफैंले अपहरणको नाटक रची परिवारबाट १५ लाख फिरौती मागेको प्रहरी अनुसन्धानबाट खुलेको कैलाली प्रहरी प्रमुख आभूषण तिमल्सेनाले बताए ।

सिंह गत बुधबार आफैं भारत गएर भारतीय नम्बरबाट घरमा फोन गरी आफू अपहरणमा परेको र अपहरणमुक्त हुन १५ लाख रुपैयाँ आवश्यक परेको भन्दै सो रकम माग गरेका थिए । उनले अपहरणकारीलाई दिने फिरौती रकम आफ्नो खातामा पठाउन भन्दै परिवारका सदस्यलाई खबर गरेका थिए । परिवारका सदस्यले पनि उनैले भनेझै रकम बैङ्क खातामा राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सिंहको अपहरणबारे प्रहरीले अनुसन्धान गर्दा उनैले नाटक रचेको खुलेको हो । सिंहले फोन गरेको नम्बरको लोकेसन भारतको पञ्जाबमा देखिएपछि प्रहरी त्यहाँ पुगेको थियो । उक्त नम्बरको पिछा गर्दै जाँदा उनी आफैंले फोन गरेको खुलेको थियो । अपहरणको नाटक गर्ने सिंहलाई प्रहरीले आवश्यक कारबाही थालेको जनाइएको छ ।