एडीबीको ऋण उच्च, निकासा न्यून

सन् २०१८ मा एडीबीले जम्मा ५९ करोड २० लाख डलर ऋण प्रदान गरेको छ भने यातायात, सहरी विकास, पानी, ऊर्जा, ग्रामीण सडक, कृषि र प्राकृतिक संसाधनमा प्राविधिक सहायता ८१ लाख डलरको छ ।

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई प्रदान गर्दै आएको वार्षिक ऋण सन् २०१८ मा उच्च रह्यो, तर निकासा भने एकदमै न्यून छ । सन् २०१८ मा एडीबीले जम्मा ५९ करोड २० लाख डलर ऋण प्रदान गरेको छ भने यातायात, सहरी विकास, पानी, ऊर्जा, ग्रामीण सडक, कृषि र प्राकृतिक संसाधनमा प्राविधिक सहायता ८१ लाख डलरको छ ।

एडीबी र वित्तीय मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको देशको पोर्टफोलियो समीक्षा बैठकमा बोल्दै दक्षिण एसियाली क्षेत्रका लागि एडीबीका उप महानिर्देशक दिवेश शरणले भने, ‘२०१४(१६ का बीचमा एडीबीले औसमतमा प्रदान गरेको प्रतिवर्ष २५ करोड ३० लाख डलरको ऋणभन्दा पछिल्लो ऋणमा निकै ठूलो वृद्धि भएको छ, जसले नेपालको आर्थिक विकास र यहाँका जनताहरुको जीवनलाई सुधार्न हामी प्रतिबद्ध छौं भन्ने देखाएको छ ।’

उप महानिर्देशक शरणले पछिल्ला वर्षहरुमा नेपालमा एडीबीको पोर्टफोलियो प्रदर्शनले राम्रो प्रगति देखाइरहेको र कन्ट्रयाक्ट अवार्ड तथा निकासा थप राम्रो हुनसक्ने बताएका छन् । सन् २०१८ मा वास्तविक परियोजना कार्यान्वयन प्रगतिको मापदण्डका रुपमा निकासा, सहऋणका अतिरिक्त २४ करोड ६७ लाख डलर थियो, जुन वास्तविक लक्ष्यको ८० प्रतिशत थियो । प्राप्त कुल कोष रकममा दुई अर्ब ८० करोड डलर ३६ ओटा लगानी परियोजनामा बाँडिए भने ६१ प्रतिशत अझै निकासा हुन बाँकी छ ।

‘नेपाल सङ्घीय संरचनामा प्रवेश गरेको छ, जसले जनताका लागि सेवा उपलब्धतामा उल्लेखनीय सुधार ल्याएको छ । तर, यहाँ केन्द्रीय र उपराष्ट्रिय सरकारी तहको क्षमताबीच ठूलो खाडल छ, शरणले भने, ‘यसलाई समयानुसार सफल परियोजना कार्यान्वयनका लागि सम्बोधन गर्न आवश्यक छ । फलस्वरुप मानिसहरुले पाउने सेवामा सुधार आउने छ ।’

सो विशेष समारोहमा अर्थ सचिव राजन खनालले उत्कृष्ट परिणाम ल्याउने एडीबीबाट सहयोगप्राप्त परियोजनालाई पुरस्कृत गरेका थिए । उल्लेखनीय परियोजना व्यवस्थापन टिम अवार्ड जित्ने परियोजनामा ग्रामीण कनेक्टिभिटी सुधार परियोजना, सिप विकास परियोजना तथा क्षेत्रीय सहरी विकास परियोजना छन् ।

प्रक्रिया व्यवस्थापनको उत्कृष्ट टिमको पुरस्कार प्रकोप पुनस्र्थापना विद्यालय परियोजनाले हात पारेको छ । वातावरण तथा सामाजिक सुरक्षा निरीक्षण र लैङ्गिक समानता तथा सामाजिक समावेशिताको विधामा काठमाडौं उपत्यका वाटर सप्लाई परियोजना तथा फाइनान्सिङले अवार्ड जितेको छ ।

नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोभले वातावरण, सामाजिक सुरक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशिताका पक्षलाई परियोजना कार्यान्वयनका क्रममा सुनिश्चित गरी आफ्नो लक्ष्य प्राप्त गर्ने परियोजना टिमको प्रयासलाई यी अवार्डले पहिचान दिएको बताए ।

सन् १९६६ देखि एडीबीले नेपालका लागि जम्मा पाँच अर्ब ८० करोड डलरको सहयोग रकम अनुमोदन गर्दै आएको छ । एडीबीको पोर्टफोलियोमा दुई अर्ब ८० करोडका ३६ परियोजना र दुई करोड ६४ लाखका १८ ओटा प्राविधिक सहायता परियोजना छन् ।

एडीबी अति गरिबीपना उन्मूलन गर्दै समृद्धशाली, समावेशी, पुनस्र्थापित र दिगो एसिया तथा प्यासिफक क्षेत्र बनाउन प्रतिबद्ध छ । २०१८ मा यसले २१ अर्ब डलरसम्मको नयाँ ऋण र सहयोग दिने प्रतिबद्धता जाहेर गरेको थियो । १९६६ मा स्थापना भएको यस वित्तीय संस्थामा एसिया क्षेत्रबाट ४८ सदस्य गरी जम्मा ६७ सदस्य मुलुक आबद्ध छन् ।