राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउनुहोस् : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले इज्जत, प्रतिष्ठा कमाउनका निम्ति जुनसुकै क्षेत्रमा काम गरे पनि हुने भन्दै आफूलाई रूचि भएको ठाउँमा लागेर काम गर्न आग्रह गरेकी छन् ।

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलाहरूलाई आग्रह गरेकी छन् । ललितपुरमा आइतबारबाट राष्ट्रिय सहकारी महासङ्घको आयजनामा सुरू भएको ‘सहकारीमा महिला सशक्तीकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले इज्जत, प्रतिष्ठा कमाउनका निम्ति जुनसुकै क्षेत्रमा काम गरे पनि हुने भन्दै आफूलाई रूचि भएको ठाउँमा लागेर काम गर्न आग्रह गरेकी छन् । मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत् महिलाहरूको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न आग्रह गरेकी छन् ।

‘तपाईंहरू राम्रो सहकारीकर्मी बन्नुहोस् । सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत् आत्मनिर्भर बनाउनुस्,’ मन्त्री अर्यालले भनिन्, ‘आफूजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो । आफूमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन् । सहकारीमा लागेपछि आफू पनि बन्ने र अरूलाई पनि बनाउने हो ।’

नेपालमा महिला आन्दोलन बोल्न पाउने, लेख्न पाउने, चुन्न र चुनिन पाउने अवस्थादेखि सुरू भएर अहिले करिब चार हजार महिलाहरू महत्त्वपूर्ण ठाउँमा जनप्रतिनिधिका रूपमा चुनिने अवस्था आएको मन्त्री अर्यालले बताइन् । सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने मन्त्री अर्यालले बताइन् ।

अबको महिला आन्दोलनको दिशा भनेको सशक्तीकरणकै भएको भन्दै उनले हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी दाबेदारी प्रस्तुत गर्नुपर्ने बताइन् । ‘अबको महिला आन्दोलनको दिशा सशक्तीकरणको हो । अब राजनीति, व्यवसाय, उद्यम, बैङ्क, कर्मचारी, कुटनीतिक नियोगलगायतका हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गरौं,’ मन्त्री अर्यालले भनिन् ।

अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा सबल बन्नैपर्ने उनको भनाइ थियो । आफ्नो आवश्यकता पूरा गर्नका लागि अब सहकारीले महिलालाई गरेर खाऊ भनेर सीप दिनुपर्ने मन्त्री अर्यालले बताइन् । सहकारीमा जम्मा भएको पुँजीलाई लगानी गरेर आर्थिक उपार्जनतर्फ लाग्नुपर्ने उनके भनाइ थियो ।