ब्याजदरमा सहमति नगरे हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनीपछि जुटे बैंकर र व्यवसायी

अहिलेसम्म ब्याजदरको विषयमा बैङ्कर्स एसोसिएसन र एफएनसीसीआईबीच औपचारिक छलफल हुन सकेको थिएन । मोरङका केही उद्योगीले बैङ्कले चर्को ब्याज लिएको भन्दै आन्दोलनमा उत्रिएपछि एफएनसीसीआईले पनि उक्त आन्दोलनलाई साथ दिएको थियो ।

काठमाडौं । चर्को ब्याजदरलाई मत्थर बनाउन पहिलो पटक नेपाल बैङ्कर्स एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)बीच सोमबार छलफल हुने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा सहमति जुटाउन बैंङ्कर र एफएनसीसीआईलाई अनुरोध गरेका थिए । सहमति नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएपछि बैंङ्कर संघ र एफएनसीसीआईका प्रतिनिधिले ब्याजदर घटाउन पहल थालेका हुन् ।

नेपाल इन्फास्ट्रक्चर बैंङ्कको उदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले ६ र १६ प्रतिशत अतिवादको अन्त्य गर्दै यसबीचमा सहमति खोज्न आग्रह गरेका थिए । सहमति नजुटाए सरकारले हस्तक्षेप गर्ने चेतावनी सो अवसरमा दिएका हुन् ।

अहिलेसम्म ब्याजदरको विषयमा बैङ्कर्स एसोसिएसन र एफएनसीसीआईबीच औपचारिक छलफल हुन सकेको थिएन । मोरङ, रुपन्देही र सुर्खेतका केही उद्योगी व्यवसायीले बैङ्कले चर्को ब्याज लिएको भन्दै आन्दोलनमा उत्रिएपछि एफएनसीसीआईले पनि उक्त आन्दोलनलाई साथ दिएको थियो ।

त्यसपछि बैङ्कर एसोसिएसन र एफएनसीसीआई दुई खेमामा बाडिएका थिए । उनीहरुले आ–आफ्नो ठाउँबाट सरकारको लविङमा लागेका थिए । एफएनसीसीआईका अध्यक्ष भवानी राणाको पहलमा उद्योगीले ब्याजदरको विषय लिएर प्रधानमन्त्रीसमक्ष पुगेका थिए ।

निजी क्षेत्रको आन्तरिक समस्या आन्तरिक रुपमै छलफल गरेर टुङ्ग्याउन बैङ्कर एसोसिएसनले पहल गरे पनि उद्योगीहरु अर्थमन्त्री तथा नेपाल राष्ट्र बैङ्कका गभर्नरसमक्ष पुगेका थिए ।

राज्यका उच्च निकायमा भेट गरिसकेपछि उद्योगी र बैङ्कर एउटै टेवलमा पुग्न लागेका हुन् । ब्याजदरले निकै उग्र रुप लिएपछि राष्ट्र बैङ्कले ब्याजदर घटाउन नीतिगत निर्णय पनि गरिसकेको छ ।

महासङ्का अध्यक्ष राणाका अनुसार ब्याजदरकै विषयमा छलफल हुने बताइन् । बैङ्कर एसोसिएसन र एफएनसीसीआईबीच ब्याजदरको विवाद चर्किएपछि पहिलो पटक दुई संस्था आमन्ने सामुन्ने हुन लागेका हुन् । अध्यक्ष राणाका अनुसार सोमबार ब्याजदरको बारेमा छलफल हुने छ ।

बैङ्कर एसोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले पहिल्यै नै उद्योगी र बैङ्करबीच छलफल हुने पर्ने बताए । ‘तर, ढिलै भए पनि छलफल हुन लागेको छ, यो राम्रो कुरा हो,’ उनले भने, ‘यसले अहिले देखिएको समस्या समाधान हुन्छ ।’

बैंकहरुको आधारदर घटेर एक अंकमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आधारदर ११ प्रतिशतबाट ९.७ प्रतिशतमा झरेको छ ।