नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु

धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए ।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गरिएको छ । कालोपत्रे गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् ।

धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए । उनका अनुसार विमानस्थलको धावनमार्ग, जहाज पार्किङस्थल, ट्याक्सी वे आदि स्थानमा एक तह थपेर कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले सन्ध्याकालीन विमान सेवा बन्द गरिने भएको छ ।

धावनमार्ग कालोपत्रे गरिने भएपछि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र विमानस्थल खुला रहनेछ । झण्डै १२ वर्ष पछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँच र छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने छ । बाक्लो हुस्सुका कारण बिहानका उडान नियमित नभइरहेका बेला सन्ध्याकालीन सेवा रोकिएपछि हवाई यात्रुलाई मर्का परेको छ । यात्रुको समस्यालाई मध्यनजर गरी अहिले धावनमार्ग बाहेकका स्थानमा काम सुरु गरिएको बताउँदै प्रमुख तिवारीले दिउँसोको समयलाई अलि फराकिलो बनाई दुईओटै उडान गराइने बताउनुभयो ।

नेपालगञ्जको राझा विमानस्थलबाट काठमाडौँ र कर्णालीका पहाडी जिल्लामा दैनिक डेढ दर्जन उडान हुन्छन् । सामान्य अवस्थामा विमानस्थल चौबीसै घण्टा खुला रहन्छ ।