सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

बीआर३२एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनि प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शङ्का लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्र सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

जनकपुरधाम । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाई नेपालबाट भारततर्फ लगिरहेकाे अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो सुडी र सोही ठाउँका ३० वर्षीय रूपेश महतो छन् । बीआर३२एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनि प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शङ्का लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्र सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

बरामद भएका सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल छ । पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भईरहेको जनाइएको छ । यस कारोबारमा अन्य को को संलग्न छन् भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताएका छन् ।