उखुखेतीलगायतका अन्य बालीभन्दा तरकारीखेतीबाट भने मगन्य आम्दानी गर्न सकिन्छ तर यसका लागि उचित बजारीकरणको व्यवस्थापन हुनु जरुरी छ ।
महोत्तरी । लागतअनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि चिन्ता व्यक्त गरे ।
उनले भने, ‘एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा त परै जाओस्, स्थानीय बजार पनि व्यवस्थित छैन, बाहिरबाट व्यापारीले ल्याएको आलुले गर्दा स्थानीय आलुको उपयुक्त मूल्य पाउन सकेको छैन ।’ हाल प्रतिकठ्ठा आलुको उत्पादन सातदेखि आठ क्विन्टल हाराहारीमा रहेको अर्का किसान रामसेवक सदाले बताए ।
‘अन्य तरकारी मौसममा बिक्री नगर्दा खेर जाने डर हुन्छ,’ उgले भने, ‘आलुलाई बचाएर राख्ने हो भने यसलाई वर्षभरि नै बिक्री गरेर आम्दानी गर्न सकिन्छ । तर यहाँ शीत भण्डार छैन जसकारण आलुलाई बचाउनका लागि निकै नै मुश्किल परेको छ ।’
यता सोही बजारमा टायर गाडामा आलु बेच्न आएकी गौशाला नगरपालिका–८ बेलगाछीकी रोजिना खड्काले भनिन्, ‘अहिले बजारमा आलुको राम्रो भाउ नै छैन, प्रतिकठ्ठा पाँच हजार उत्पादन खर्च लागेको आलु अहिले बजारको मूल्यअनुसार बिक्री गर्दा त्यसको आधामात्रै असुल हुने देखिन्छ ।’
उखुखेतीलगायतका अन्य बालीभन्दा तरकारीखेतीबाट भने मगन्य आम्दानी गर्न सकिन्छ तर यसका लागि उचित बजारीकरणको व्यवस्थापन हुनु जरुरी रहेको उनको भनाइ छ ।
किसानले आलुलाई जोगाउन सके राम्रै आम्दानी गर्न सकिन्छ तर यहाँ आलु जोगाउनका लागि शीत भण्डारको अभाव छ । स्थानीय बजारमा अहिले आलुको थोक बिक्री मूल्य प्रतिक्विण्टल एक हजार ६०० देखि एक हजार ७०० रूपैयाँसम्म छ । –धनवीर महतो/रासस