बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः मुलुकमै पहिलोपटक यस्तो सेवाग्राही सहायता कक्ष बुटवलमा सुरु गरिएको हो । 

खस्यौली । बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सुरु गरेको छ ।

सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः मुलुकमै पहिलोपटक यस्तो सेवाग्राही सहायता कक्ष बुटवलमा सुरु गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सेवाग्राहीका काममा सहजीकरण ल्याउने र परिवर्तनको समेत अनुभूति दिलाउने लक्ष्यका साथ यस्तो कक्ष सञ्चालनमा ल्याइएको बताए ।

उनले कुनै पनि जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झञ्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउनेसमेत व्यवस्था मिलाइएको जानकारी दिए । त्यस्ता उजुरीको छानबिन गरेर सम्बन्धित व्यक्तिलाई आवश्यकता अनुसारको निकायबाट जवाफदेही बनाइने बताए ।

उपप्रमुख गुमादेवी आचार्यले नागरिक वडापत्रलाई व्यावहारिक बनाउने गरी कक्ष सञ्चालन गरिएको बताए । सेवाग्राहीका गुनासा कम गर्ने र सेवाप्रवाहलाई चुस्त बनाउने उद्देश्यले नौलो थालनी गरिएको कार्यपालिका सदस्य तथा सहायता कक्षका संयोजक रञ्जित शेरचनले बताए ।

जनप्रतिनिधि सेवाग्राही सहायता कक्षमा कार्यपालिका सदस्य नै पालैपालो निरन्तर रहने गरी समयतालिका मिलाइएको नगर कार्यपालिका सदस्य तथा वडा नं ६ का अध्यक्ष जगदीशचन्द्र आचार्यले बताए । रासस