महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनओटा समूहमा ठेक्का दिइएको छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालु आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनओटा समूहमा ठेक्का दिइएको छ ।
आगामी चैत महिनादेखि नै नहर निर्माणको काम सुरु हुने आयोजनाको कार्यालयले जनाएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल इन्जिनियर (सीडीई) वीरसिंह धामीले तेस्रो चरणअन्तर्गत नहर निर्माणको ठेक्का भइसकेको जानकारी दिए । बितेको तीन वर्षमा तेस्रो चरणअन्तर्गत करिब १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने १३ दशमलव ६ मिटर चौडाइको मूल नहर कैलालीको मालाखेतीसम्म पु¥याउने लक्ष्य छ । चालु आवबाट १२ दशमलव ६९० किलोमिटरबाट नहर निर्माण सुरु भएर करिब २८ किलोमिटरसम्म आगामी तीन वर्षभित्र पुग्ने छ । ‘अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फुलेली गाउँसम्म मूल नहर पुग्छ,’ उनले भने, ‘पन्ध्र किलोमिटर नहर निर्माणका लागि दुई अर्ब ९४ करोड रुपैयाँ खर्च हुनेछ ।’
उनले आयोजनाअन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । ‘पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७ सय हेक्टर सिँचित भएको छ,’ धामीले भने, ‘तोकिएको समयसीमाभित्र नहर निर्माण पूरा हुने सम्भावना निकै कम छ ।’ स्वीकृत योजनाअनुसार सन् २०२२ भित्र नहर निर्माण सक्ने भनिए पनि हालसम्म न्यून प्रगति भएको छ । त्यसैगरी भारतले तेस्रो चरणको निर्माणका लागि दिने भनेको बजेट अहिलेसम्म प्राप्त नभएको उनले बताए । ‘अहिलेसम्म सरकारकै लगानीमा नहर बन्दैछ’, उनले भने, ‘तेस्रो चरणका लागि भारतले दिने भनेको १६ अर्ब रुपैयाँ यहाँ आइपुगेको छैन ।’ तेस्रो चरण नहरको टनकपुर क्षेत्रको भारतीय भूमिमा करिब १ दशमलव २ किलोमिटर नहर भारतले निर्माण गर्नुपर्ने एकीकृत महाकाली सन्धिमा उल्लेख छ ।
झण्डै १३ किलोमिटर नहर निर्माणका लागि गत पुस मसान्तसम्म एक अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । ६० करोड रुपैयाँ मुआब्जामै खर्च भयो,’ आयोजनाका सीडीई धामीले भने, ‘शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर निर्माणका लागि प्रक्रिया अघि बढेको छ ।’ नहरसँगै साइफन, पुल, ग्रामीण पुल र सडक ग्राभेल गर्नेलगायतका काम भइरहेका छन् ।