चोरीका सामान बोक्न भाडामा गाडी, पुरानो बानेश्वरमा गोदामै भेटियो

महानगरीय प्रहरीवृत्त महाराजगन्जको टोलीले सोमबार काठमाडौंको पुरानो बानेश्वरबाट चोरी समूहका दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं । चोरीका सामान ओसार्न दुई ओटा गाडी भाडामा लिएर उपत्यकामा चोरी आतङ्क मच्चाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त महाराजगन्जको टोलीले सोमबार काठमाडौंको पुरानो बानेश्वरबाट चोरी समूहका दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा रामेछापका ओमराज श्रेष्ठ, भारत बिहार मोतिहारीका पारस प्रसाद र सन्तोष पोद्दार छन् । प्रहरीले सो समूहका केही सदस्य फरार रहेको भन्दै खोजी थालेको छ ।

उनीहरुले काठमाडौंका दर्जनौं स्थानमा विभिन्न व्यक्तिका घर तथा पसलमा चोरी गरेको प्रहरीले बताएको छ । पक्राउ परेको गिरोहले चोरीका सामान ओसार्न एउटा ट्याक्सी र एउटा भ्यान भाडामा लिएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चार वर्षयता काठमाडौंको पुरानो बानेश्वरस्थित उत्तमकृष्ण कर्माचार्यको घर भाडामा लिएर चोरीका सामान राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले बताए । उनका अनुसार चोर गिरोहले बा१ज ११९२ नम्बरको ट्याक्सी र बा१४च ७२८९ नम्बरको भ्यान भाडामा लिएर चोरी गरेका सामान त्यहाँ ल्याउने गरेको थियो ।

‘नेपाली र भारतीय नागरिक मिलेर एउटा चोरी गर्ने गिरोह बनाए,’ प्रवक्ता डीएसपीले क्यापिटल नेपालसँग भने, ‘सो गिरोहले उपत्यकाभित्रका ठूला सुनचाँदी पसल, हार्डवेयर पसल तथा विभिन्न व्यक्तिका घरमा चोरी गर्दै आएको देखियो ।’

‘एक ट्रकभन्दा बढी चोरीका सामान हामीले नियन्त्रणमा लिएका छौं, तर ती सामान कसका हुन् भन्ने खुलेको छैन । उनीहरुले दर्जनौं व्यक्तिका पसल तथा घरमा चोरी गरेका छन्,’ प्रवक्ता बोगटीले भने ।

उनका अनुसार प्रहरीले १० केजीभन्दा बढी चाँदी, केही सुनका गहना र हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीका अनुसार फागुन १४ गते विराट महर्जनको सुनचाँदी पसलबाट चोरी भएका सामान, धुमबाराहीमा रहेको कर्णप्रसाद चौलागाईंको पसलबाट चोरी भएका सामान, भक्तपुरमा रहेको हार्डवेयरबाट चोरी भएका सामानलगायत विभिन्न समयमा विभिन्न व्यक्तिका घर पसलमा चोरी गरेका सामान सोही ठाँउमा भएको अनुसन्धानबाट खुलेको छ ।

गिरोहले चोरी गरेका हार्डवेयर सामान तथा अन्य पसलका सामानहरु सस्तोमा बेच्ने र सुन चाँदीका गहना भारत पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।