महोत्तरीका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित

सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भँगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् ।

महोत्तरीको उत्तरी क्षेत्रका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भँगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्राङ्गारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका छन् ।

गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा राखेर बनाइएको मलले उत्पादन बढाउने स्थानीयवासी चन्देश्वर राय दनुवार बताउँछन् । चाहिने बेलामा रासायनिक मलको हाहाकार हुने हुँदा आफूहरु प्राङ्गारिक खेतीतिर लागेको उनको भनाइ छ । कीरा नियन्त्रणका लागि गहुँत, खरानी र पानी छर्कने विधि अपनाइएको दनुवारले बताए ।

बर्दिवास–९ पशुपतिनगरका ब्रह्मदेव महतो प्राङ्गारिक खेती सुरु गरेपछि उत्पादन बढ्दै गएको बताउँछन् । बर्दिवासमा उद्योगबाटै उत्पादित प्राङ्गारिक मलको बिक्री वितरण बढेको छ । बर्दिवासमा प्राङ्गारिक मल बिक्री गर्दै आएका बर्दिवास–७ का चन्द्रलाल क्याप्छाकीले पछिल्ला दुई वर्षयता किसान प्राङ्गारिक खेतीतर्फ लागेपछि मलको माग ह्वात्तै बढेको बताए ।