घटनाको निरिक्षण पछि उद्योग बाणिज्य सघंका अध्यक्ष राणाले लगानी सम्मेलनको पूर्वसन्ध्यामा चरणबद्ध रुपमा हुने यस्ता घटनाहरुले व्यवसायीहरु त्रसित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटनको स्थलगत निरिक्षणका लागि नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल घटनास्थलमा पुगेका छन् । गत शुक्रबार साझ काठमाडौंको बसुन्धरा रहेको गुरुङको घरमा बम विस्फोटन भएको थियो ।
आइजिपी खनाल सँगै नेपाल उद्योग बाणिज्य सघंका अध्यक्ष भवानी राणा, उपाअध्यक्ष चन्द्र ढकाल लगाएतका व्यवसायीहरु पुगेका थिए ।
घटनाको निरिक्षण पछि उद्योग बाणिज्य सघंका अध्यक्ष राणाले लगानी सम्मेलनको पूर्वसन्ध्यामा चरणबद्ध रुपमा हुने यस्ता घटनाहरुले व्यवसायीहरु त्रसित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले दोशीलाई तत्काल कार्वाही गर्न अनुरोध गर्दै विस्फोटनमा सहभागिहरुलाई पनि वार्ता र संवादमार्फत आफ्ना मागहरु सरकारलाई राख्न आग्रह गरेकी छिन् । वैदेशिक रोजगार संघका अध्यक्षको घरमा बम विस्फोटन गराएर सिंगो व्यवसायी नै त्रसित भएको भन्दै सरकारले सुरक्षाको प्रत्याभुति दिनु पर्ने बताइन ।
यसैबीच आइजिपी खनालले घटनामा संलग्नको खोजि भइरहेको जानकारी दिए । उनले अध्यक्ष गुरुङको घरमा भएको बम विस्फोटन प्रति लक्षित गर्दै कुनै पनि व्यवसायीलाई त्रसित नभई ढुक्क भएर काम गर्न अनुरोध गर्दै आवश्यक सुरक्षा दिन तयार रहेको बताए ।
बम विस्फोटनको जिम्मेवारी नेत्र विक्रम चन्द समूहका युवा संगठनले लिएको छ। बम विस्फोटबाट गुरुङको फर्चुनर गाडी जल्नुको साथै घर आंशिक रुपमा जलेको थियो।
गुरुङको घर निरिक्षणका लागि यस अघि उपप्रधानमन्त्री इश्वर पोखरेल, श्रम मन्त्री गोकर्ण विष्ट,महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा लगाएतका व्यक्तिहरु गएका थिए ।