९ प्रतिशत आर्थिक वृद्धि पुर्याउन प्रत्येक वर्ष १५ खर्ब लगानी

सरकार एक्लैले १५ खर्ब रुपैयाँ लगानी गर्न सक्दैन । नेपालका निजी क्षेत्रसँग पनि त्यो क्षमता छैन । नेपाली बैङ्कसँग पनि त्यत्रो पैसा छैन । उनले भने, ‘त्यही भएर विदेशी लगानीकर्तालाई नेपालमा जसरी पनि भित्र्याउनुपर्छ ।’

काठमाडौं । ९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न प्रत्येक वर्ष १५ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । अहिलेको ६ देखि ७ प्रतिशतको आर्थिक वृद्धिलाई बढाएर ९ प्रतिशत पुर्याउन सरकार र निजी क्षेत्र मिलेर प्रत्येक वर्ष १५ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

‘१५ खर्ब रुपैयाँ लगानी मध्ये १० खर्ब रुपैयाँ प्रत्येक वर्ष निजी क्षेत्रबाट लगानी गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले सरकार निजी क्षेत्रलाई अनुकूल हुने नीति बनाउन लागिपरेको छ ।’

सरकार एक्लैले १५ खर्ब रुपैयाँ लगानी गर्न सक्दैन । नेपालका निजी क्षेत्रसँग पनि त्यो क्षमता छैन । नेपाली बैङ्कसँग पनि त्यत्रो पैसा छैन । उनले भने, ‘त्यही भएर विदेशी लगानीकर्तालाई नेपालमा जसरी पनि भित्र्याउनुपर्छ ।’

१५ खर्ब रुपैयाँ भनेको धेरै ठूलो रकम हो । ७५ प्रतिशत रकम स्वदेशी र विदेशी लगानीकर्ताबाटै ल्याउनुपर्ने छ । अहिले सरकार उक्त रकम ल्याउने वातावरण बनाउन लागेको खतिवडाले बताए ।  लगानी बढ्न थालेपछि मूल्यवृद्धि पनि केही बढ्न सक्छ । त्यसलाई स्वभाविक रुपमा लिनु पर्छ । नेपालीको आम्दानी पनि बढ्ने र मूल्यवृद्धि पनि सोही अनुसार बढ्ने उनको भनाइ छ ।

प्रत्येक वर्ष १५ खर्ब लगानी गर्नकै लागि सरकारले एकद्वार नीतिलाइ कार्यान्वयनमा ल्याउने तयारी गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उद्योगीले अहिले पनि नयाँ उद्योग लगाउनु पर्यो भने २७ भन्दा बढी ठाउँ धाउनुपर्ने बाध्यता छ । त्यसलाई हटाउन एकद्वार नीति ल्याएको खतिवडाले जानकारी दिए ।