अहिले जिल्लाका ११ ओटै पालिकाका ९७ वडामा दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउनका लागि फाराम भर्ने कार्य जारी रहेको र चैतभित्र दर्ता भएकाले २०७६ जेठबाट स्वास्थ्य बिमाबापतको सेवा लिन पाउने छन् । बिमितलाई पहिलो बिन्दुका रुपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौं घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमूल स्वास्थ्य केन्द्र गरी तीन ओटा स्वास्थ्य केन्द्रको व्यवस्था गरिएको छ ।
वालिङ । स्याङ्जा जिल्लामा भर्खरै सुरु भएको स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित भएका छन् । स्वास्थ्य बिमा कार्यक्रममार्फत योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन हुनुका साथै बिरामी हुँदा आर्थिक सुरक्षा प्राप्त हुने भएकाले पनि स्याङ्जामा सुरु भएको स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित भएका हुन् ।
स्वास्थ्य बिमा कार्यालयले जिल्लाका ९७ ओटै वडाका दर्ता सहयोगीलाई तालिम तथा आवश्यक दर्ता सहयोगी सामग्री प्रदान गरेर वडा–वडामा सदस्यता बनाउन पठाएको कार्यालयका दर्ता अधिकारी ध्रुव हमालले बताए । ‘दर्ता सहयोगीलाई तालिम दिएर जिल्लाका ९७ ओटै वडामा खटाएका छाैं भने जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गोष्ठी सञ्चालन गर्यौँ”, दर्ता अधिकारी हमालले भने, “पहिलो पटक जिल्लामा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा आबद्धता जनाउन धेरै घर परिवारले तीव्र इच्छा प्रकट गर्नुभएकाले पनि स्वास्थ्य बिमाप्रति नागरिक उत्साहित छन् ।”
अहिले जिल्लाका ११ ओटै पालिकाका ९७ वडामा दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउनका लागि फाराम भर्ने कार्य जारी रहेको र चैतभित्र दर्ता भएकाले २०७६ जेठबाट स्वास्थ्य बिमाबापतको सेवा लिन पाउने छन् । बिमितलाई पहिलो बिन्दुका रुपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौं घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमूल स्वास्थ्य केन्द्र गरी तीन ओटा स्वास्थ्य केन्द्रको व्यवस्था गरिएको छ । त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत दोस्रो बिन्दुका रुपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको दर्ता अधिकारी हमालले बताए ।
आफ्नो वडाभित्रका सर्वसाधारण स्वास्थ्य बिमा गर्न पाउँदा निकै खुसी भएका स्याङ्जाको गल्याङ नगरपालिका–११ मा दर्ता सहयोगीका रुपमा कार्यरत सीता अधिकारीले बताइन् । दर्ता सहयोगी अधिकारीका अनुसार स्वास्थ्य बिमामा दर्ता गर्न घर घरमा जाने क्रममा वडाका नागरिक स्वास्थ्य बिमाप्रति निकै आकर्षित भएका छन् ।
“हाम्रो वडामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुने देखिएको छ”, दर्ता सहयोगी अधिकारीले भनिन्, “यहाँबाट नजिकै पाल्पा जिल्ला पर्ने र त्यहाँ पहिलेदेखि नै स्वास्थ्य बिमा कार्यक्रम लागू भएकाले पनि त्यहाँबाट बुझेर पनि बिमा गराउनेको आकर्षण बढेको हो ।”
केही दिन अघिदेखि दर्ता कार्य थालनी गरेको यो अभियानमा दर्ता सहयोगी अधिकारीले २८ घर परिवारको स्वास्थ्य बिमा गराई सकेकी छन् । त्यस्तै यता वालिङ नगरपालिका–८ की स्वास्थ्य बिमा दर्ता सहयोगी शान्ता अर्यालले पनि ११ घर परिवारलाई स्वास्थ्य बिमामा आबद्ध बनाएकी छन् ।
स्वास्थ्य बिमाका बारेमा धेरैले बुझेको छ र बुझेका एकदमै उत्सुकताका साथ लागेका छन् तर केहीले यसका बारेमा नबुझेकै कारण पनि बुझाउन लाग्दा अलिकति ढिलाइ भएको अनुभव दर्ता सहयोगी अर्यालको छ ।
स्वास्थ्य बिमा गर्न पाँच जनाको सदस्य भएको परिवारले फारम भर्दा वार्षिक दुई हजार ५००रूपैयाँ प्रिमियम तिर्नुपर्दछ भने पाँच जनाभन्दा धेरै परिवारका सदस्य भएमा प्रतिसदस्य ४५० का दरले थप गर्दै जानुपर्दछ । पहिलो पटक बिमा गरेको समय एक वर्षको हुने भएकाले नवीकरण गर्दा पहिला जति प्रिमियम तिर्यो सोही रकम अर्को वर्ष पनि तिर्नुपर्दछ ।
राष्ट्रिय स्वास्थ्य बिमा नीति, २०७१ ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने मुख्य उद्देश्य छ । रासस