बूढीगण्डकी सरोकार समितिले आज ऊर्जा मन्त्रालयमा आयोजना गरेको गोरखा र धादिङका सांसदसहितको बृहद छलफलमा ऊर्जामन्त्री कमल थापाले मुआब्जा वितरणमा देखिएको विवाद तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा प्रक्रिया तत्काल अगाडि बढाइने बताएका छन् ।
बूढीगण्डकी सरोकार समितिले आज ऊर्जा मन्त्रालयमा आयोजना गरेको गोरखा र धादिङका सांसदसहितको बृहद छलफलमा ऊर्जामन्त्री थापाले मुआब्जा वितरणमा देखिएको विवाद तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सरकार आफैँले बनाउन लागेको आयोजना भएकाले समस्या समाधान गर्न पहल गरिने बताए ।
गोरखाका सांसद एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजना सरकारले बनाउने निर्णय गरेर राम्रो काम गरे पनि लामो समयदेखि मुआब्जा दिने नाममा स्थानीयलाई समस्यामा पारेको भन्दै तत्काल उक्त माग सम्बोधन गर्न आग्रह गरे ।
गोरखाका प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले आयोजनाको मुआब्जा तत्काल दिएर आयोजनाको सेयर गोरखा र धादिङका जनतालाई दिने वातावरण मिलाउन आग्रह गरे ।
धादिङका सांसद खेम लोहनीले जनतालाई मुआब्जा दिन किन ढिला गरेको भन्दै प्रश्न गरे भने प्रदेश सांसद जगत सिम्खडाले आयोजनाबाट भूकम्पपीडित नागरिक पीडित बनेका बताए ।
गोरखा क्षेत्र नं १ का सांसद हरि अधिकारीले राष्ट्रिय गौरवको आयोजना भन्ने तर जनताको मागलाई सम्बोधन नगर्ने भन्दै आपत्ति जनाए ।
पछिल्लो समय गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीले आफूले मुआब्जा वितरण गर्न नसक्ने बताएपछि आज मन्त्रालयमा मुआब्जा वितरण र निर्माणसम्बन्धी छलफल भएको हो । कुल एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना नेपाल सरकार आफैँले निर्माण गर्न लागेको छ ।