धार्मिक मेलाको आयव्यय सार्वजनिक : साढे २७ लाख भेटीमा २२ लाख खर्च

यस वर्षको मेलामा सात लाखभन्दा बढीले अवलोकन गरेको मेला आयोजक संस्थाले जनाएको छ । यसवर्ष सञ्चालन भएको मेलामा कुल २७ लाख ५० हजार रूपैयाँ भेटी सङ्कलन भएको मेला आयोजक कुतबुल मदार शाह दरगाहा सुस्ता–२ महलबारीले जनाएको छ । यो आम्दानी गत वर्षको भन्दा थाेरै हो । 

परासी । पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो ।

यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको मेलामा सात लाखभन्दा बढीले अवलोकन गरेको मेला आयोजक संस्थाले जनाएको छ । यसवर्ष सञ्चालन भएको मेलामा कुल २७ लाख ५० हजार रूपैयाँ भेटी सङ्कलन भएको मेला आयोजक कुतबुल मदार शाह दरगाहा सुस्ता–२ महलबारीले जनाएको छ । यो आम्दानी गत वर्षको भन्दा थाेरै हो ।

समितिका अध्यक्ष निजामुद्दीन मियाँका अनुसार मेलाबाट पाँच लाख २५ हजार ९९५ बचत भएको छ । समितिले मेलाको व्यवस्थापन, खाना, खाजा, सरसफाइ, बिजुली, पानीको व्यवस्था, रङरोगन, आर्थिक सहयोग, औषधि उपचार, यातायात, अतिथि सत्कारलगायतमा गरी २२ लाख २४ हजार ५५ रूपैयाँ खर्च गरेको छ ।

मेलाबाट बचत भएको रकम निर्माणाधीन गद्दीघरमा खर्च गर्ने समितिले निर्णय गरेको अध्यक्ष मियाँले जानकारी दिए । गत वर्षको मेलाबाट २९ लाख ९१ हजार ८९२ रूपैयाँ आम्दानी भएको थियो । गद्दीघर पुरानो भएपछि गत वर्षको मेलाबाट बचत भएको आठ लाख ५० हजार पनि समितिले उक्त भवनमै खर्च गरेको बताएको छ । मेलामा भक्तजनले चढाएको भेटी पादरर्शी नहुने गरेको आरोप लागिरहेका बेला पछिल्लो वर्षमा समितिले मेलाको आयव्यय सार्वजनिक गर्न थालेको हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल मानिने पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा अवस्थित मदारबाबा हिन्दू र बौद्ध धर्मावलम्बीको पनि आस्थाको केन्द्र हो ।

सदरमुकाम परासीबाट २७ किलोमिटर पूर्व तथा पूर्वपश्चिम राजमार्गको बर्दघाटदेखि २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा आउने ७५ प्रतिशत तीर्थालु भने भारतबाट आउने गरेका छन् । मदारबाबाले लामो समय तपस्या गरेको मदरीडाँडामा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । मदारबाबा मेलाले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पुर्याएको स्थानीयवासी बताउँछन् । मदारबाबाले तपस्या गरेको यो स्थान धार्मिक सद्भावका निम्ति अत्यन्तै उदाहरणीय क्षेत्र हो ।

बाह्र सय वर्षअघि हिजरी संवत् २४२ मा सिरियामा जन्मिएका मदारबाबाको देहान्त हिजरी संवत् ८३८ मा भारतको कानपुरमा भएको थियो । उनी मुस्लिम समुदायका धर्मगुरु हुन् । मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फुलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास रहेको मदारबाबाका मठाधीश अमिरुल्लाह अन्सारी बताउँछन् ।

यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने पनि ठूलो विश्वास छ । मदारथान (मदारबाबाको समाधिस्थल) पुग्न सुस्ता–२ महलबारीबाट करिब तीनदेखि चार घण्टाको पहाड चढेर जानुपर्दछ । “यो नेपालकै सबैभन्दा पुरानो र धेरै स्वदेशी तथा विदेशी भक्तजनले अवलोकन गर्ने स्थल हो, मदारमा पुग्न लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने अवस्था छ, तर पहाडको उक्त बाटो अहिलेसम्म व्यवस्थित हुनसकेको छैन”, समितिका संरक्षक बुद्धन अलीले भने ।

लाखाैं हिन्दू र मुस्लिम समुदायको साझा आस्थाको केन्द्र बनेको मदारबाबालाई उचित संरक्षण, प्रवर्द्धन र विकासका लागि स्थानीयस्तरबाट लागिरहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउँछन् । रासस