जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव

स्वास्थ्य संस्थामा औषधि अभावका कारण उपचारका लागि आएका बिरामी फर्केर जाने गरेका छन् । औषधि अभावका कारण स्वास्थ्य संस्थाको ढोकामात्र खोलेर बस्ने काम मात्र भएको छुमचौर स्वास्थ्यचौकीका प्रमुख प्रकाश सापकोटाले बताए । 

जुम्ला । जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ ।

स्वास्थ्य संस्थामा औषधि अभावका कारण उपचारका लागि आएका बिरामी फर्केर जाने गरेका छन् । औषधि अभावका कारण स्वास्थ्य संस्थाको ढोकामात्र खोलेर बस्ने काम मात्र भएको छुमचौर स्वास्थ्यचौकीका प्रमुख प्रकाश सापकोटाले बताए ।

गाउँपालिकामा रहेका चारवटै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । औषधि अभाव भएको दुई महिना बितिसक्दा पनि गाउँपालिकाबाट उपलब्ध हुन नसकेको प्रमुख सापकोटाले बताए ।

राज्यले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरीद गर्न नसकेका कारण जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको उनले बताए । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।

स्थानीय तहले औषधि खरीदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । बिरामी जाँच गरेर औषधि लिन निजी मेडिकलमा पठाउनु परेका उनको भनाइ छ । गाउँपालिकामा औषधि माग गर्दा महीनौँ दिन लाग्ने भएका कारण उपचारको लागि आएका बिरामीलाई मेडिकलतिर पठाउनु परेको छ ।

गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराका अनुसार औषधि खरीद गरेर उर्थुचौतारामा थन्किएको छ । लगातार वर्षात्का कारण उर्थुदेखि डिल्लीचौर सडकखण्ड अवरुद्ध भएकाले सबै स्वास्थ्यचौकीमा औषधि ढुवानी गर्न सकिएको छैन । अबको केही दिनमै सबै स्वास्थ्य संस्थामा औषधि पठाई सक्ने अध्यक्ष बोहोराले बताए । रासस